हुन्डाई भेन्यूभन्दा सानो र सस्तो एसयूभीमा १.२ लिटर क्षमताको इन्जिन

काठमाडौं । कोरियन कार निर्माता हुन्डाईले भारतमा ल्याउने तयारी गरेको माइक्रो एसयूभीमा १.२ लिटर क्षमताको इन्जिन रहने छ । हुन्डाई आई १० को प्लेटफर्ममा बन्ने नयाँ माइक्रो एसयूभी भेन्यूभन्दा सानो र सस्तो हुनेछ ।

जनवरी २०२३ मा हुने अटो एक्स्पोमा प्रदर्शनी हुने अनुमान गरिएको इन्ट्री लेभल एसयूभी कोरियामा विक्री भइरहेको क्यास्परसँग मिल्दो जुल्दो हुने अपेक्षा गरिएको छ । कोरियन बजारमा विक्री हुने क्यास्परमा १.० लिटर क्षमताको इन्जिन दिइएको छ ।

हुन्डाईको १.२ लिटर कप्पा इन्जिनले अधिकतम ६००० आरपीएममा ८३ पीएस पावर र ४००० आरपीएममा ११४ न्यूटन मिटर टर्क उत्सर्जन गर्छ । यसमा ५ स्पीडको म्यानुअल र एएमटी गियरबक्स रहने अनुमान गरिएको छ ।

हुन्डाई मोटर्सले भारतमा बढ्दो माइक्रो एसयूभीको क्रेजलाई सम्बोधन गर्न नयाँ मोडल ल्याउन लागेको हो । कम्पनीले यसअघि विक्री गर्दै आएको इन्ट्री लेभल मोडल सेन्ट्रोको उत्पादन समेत बन्द गरिसकेको छ । माइक्रो एसयूभी सेग्मेन्टमा टाटा मोटर्सले विक्री गर्दै आएको पन्चले मासिक १० हजारको हाराहारीमा विक्री आंकडा पाइरहेको छ ।

हुन्डाईको यो नयाँ एसयूभी एआईथ्री कम्प्याक यूटीलीटी भेहिकल प्लेटफर्ममा आधारीत हुनेछ । यही प्ल्याटफर्ममा ग्राण्ड आई १० नियोस र कम्प्याक्ट सेडान औरा पनि बनेको हो ।

टाटा पन्चमा जस्तै हुन्डाईको माइक्रो एसयूभीमा मस्कुलर बडी प्यानलिङ तथा बाक्लो बडी क्लाडिङ रहनेछ । हुन्डाईले आफ्नो इन्ट्री लेवल एसयूभी वार्षिक ५० हजार यूनिट उत्पादन गर्ने अनुमान गरिएको छ । मूल्यको हिसावले पनि माइक्रो एसयूभी भेन्यूभन्दा सस्तो हुनेछ ।


Back_to_top