काठमाडौं । सन् २०२४ साढे ११ महिनाको आयात तथ्यांकले नेपालमा जस्तोसुकै इलेक्ट्रीक स्कुटर ल्याउने र कमाउने सोचमा धक्का लागेको देखिन्छ । नाङ्लोमा पसल राखे जसरी जथाभावी विद्युतीय दुई पाङ्ग्रे आयात गर्ने र केही युनिट बिक्री गरेर भाग्ने परिपाटीको अन्त्य नजिक आएको बुझ्न सकिन्छ ।
अहिलेको आयात तथ्यांक अनुसार बजारमा भरपर्दा ब्राण्ड छनोटमा उपभोक्ता सक्षम भएको देखिन्छ । राम्रा ब्राण्डले आफ्नो आयात र बिक्री दुवै बढाउँदा कमजोर ब्राण्डका उत्पादन आयात ठप्प जस्तै देखिन्छन् ।
चालु वर्ष २०२४ को साढे ११ महिनामा ४ हजार ७३९ युनिट विद्युतीय दुई पाङ्ग्रे आयात भएका छन् । विभिन्न ४१ ब्राण्डका दुई पाङ्ग्रे इलेक्ट्रीक साधन आयात भएपनि अधिकांशले ५० युनिटभन्दा कम आयात गरेका छन् । त्यस्तै १२ कम्पनीले १०० युनिटभन्दा माथि र २०० युनिटभन्दा माथि आयात गर्नेमा ७ कम्पनी छन् ।
आफ्नो वेवसाइटमा नेपालकै नम्बर १ बताउने केही कम्पनीहरूले २०२४ मा १ युनिट पनि आयात गरेका छैनन् । कतिपय नाम चलेका ब्रान्डहरू जस्तै, हिराे, प्योर ईभी, लेभनिङ, जेसिट्स, मिकु, दोहान, राफ्ट, एरोमा, हिरो, सुपर शोको, इभिट्रिक, लिफान जस्ता ब्रान्डले आयात गरेका छैन्न । यी कम्पनीहरू धेरै जसो बन्द भइसकेका छन् भने, केही बन्द हुने अवस्थामा पुगेका छन् ।

दुईपाँग्रेमा अब्बल मानिएका र ठूला व्यावसायकि घरानाले बिक्री गर्ने स्कुटरले समेत नेपालमा राम्रो व्यापार गर्न सकेको देखिँदैन । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ईमोबिलिटीले आयात गर्ने हिरो इलेक्ट्रीक, ओलिज ग्रुपको सेगवे, बज्र गुपको लेभनिङ, नेपालकै पुरानो मध्यको एक एनआइयू, केडिया ग्रुप अन्तर्गतको एम्पेयर, दुगड ग्रुपको जेसिस्ट जस्ता ब्रान्डले अपेक्षीत व्यापार गर्न सकेका छैनन् भने कतिपय ब्राण्ड बन्द हुने अवस्थामा पुगेका छन् ।

नेपालमा लामो समयदेखि स्कुटर बिक्री गर्दै आएको एनआइयूले २०२४ मा १७५ युनिट स्कुटर र २ युनिट मोटरसाइकल नेपाल ल्याएको छ । त्यस्तै, लूयान, कोमाकी, जिहो, टेराइ मोटर्सले क्रमशः १३५, १०१, १३२ र १२० युनिट स्कुटर अयात गरेका छन् ।
नेपालमा २०० यूनिट भन्दा माथि आयात गर्नेमा टेल्जी २२५, याडिया ६६२, जुलुन ३५०, टीभीएस ४४१, एथर ६७३, ग्यारो ३०४ र ग्रीन पावर २२२ युनिट रहेको छ ।

नेपालमा स्कुटर बिक्री सुरू गरेको १ वर्ष मात्र पूरा गरेको एथरले आफ्नो सर्भिस तथा बिक्रीपछिको सेवालाई चुस्त राख्दै सर्वाधिक आयात गर्ने कम्पनी बन्न सफल भएको हो ।



