चाँडै बजारमा आउने दुई कम बजेटका ईभी, कुन किन्दा ठिक ?

काठमाडौं । चिनियाँ ईभीको प्रभावसँगै नेपालमा पनि कम बजेटका गाडी चढ्न पाइने भएको छ । पेट्रोलियम पदार्थबाट चल्ने कारमा लगाइएको उच्च भन्सार, अन्तःशुल्क र सडक निर्माण दस्तुरको कारण सामान्य मारुती अल्टो कार नै २५ लाख रुपैयाँभन्दा माथि तिर्नु पर्ने भइसकेको छ ।

चिनियाँ कार निर्माताहरूको हट स्पट बनेको नेपालमा कम मूल्यका साना कारहरू थुप्रै उपलब्ध छन् । अहिले पनि १७ लाख रुपैयाँदेखि नै राम्रै ब्राण्डले उत्पादन गरेका साना विद्युतीय कार खरिद गर्न सकिन्छ । अहिले बजारमा उपलब्ध साना कारहरूभन्दा केही माथि रहने गरी दुई नयाँ मोडल नेपाली बजारमा प्रवेश गर्दैछन् ।

चिनियाँ ब्राण्ड एवोन र जिलीले उत्पादन गरेका ह्याचब्याक कार नेपाल आउन लागेका हुन् । जिलीको जियोमी ह्याचब्याक र एवोनको यूटी ह्याचब्याक नेपाल आउने भएका हुन् । जिली जियोमी ह्याचब्याक प्रोटोन इमास-फाइभ नामबाट नेपाल आउने छ ।

रोचक कुरा के छ भने सन् २०२५ मा चीनमा सर्वाधिक बिक्री भएको सिंगल मोडलमा जियोमी सबैभन्दा माथि छ । यसले बीवाइडीको सिगल र टेस्ला मोडल वाईलाई जितेर पहिलो स्थान कब्जा गरिरहेको छ ।


जीएसी मोटर्सले भने आफ्नो एवोन ब्राण्डमा यसलाई उतारेको हो । एवोन यूटी भने जियोमीभन्दा केही ठूलो ह्याचब्याक हो । यसको आधुनिक र मोर्डन डिजाइनले धेरैको ध्यान खिच्न सफल हुन्छ ।

यूटी ह्याचब्याक कारको इन्टेरियरमा १४.६ इन्चको टचस्क्रीन, ८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर र प्रिमियम ड्यासबोर्ड दिएको छ । जसले अहिले बजारमा रहेको बीवाइडी डल्फिनसँग सिधा प्रतिस्पर्धा गर्छ ।

जियोमी ह्याचब्याक साइजमा केही सानो भएको कारण यसको ड्यासबोर्डमा पनि १०.२ इन्चको केही सानो टचस्क्रीन पाउन सकिन्छ । सहर केन्द्रीत डिजाइन, मोर्डन लुक र आकर्षक फिचरको कारण यसलाई धेरैले मन पराएका हुन् ।

ब्याट्री र मोटर

विद्युतीय गाडीको सबैभन्दा धेरै तुलना हुने भनेकै ब्याट्री र मोटर साइज हो । ब्याट्री र मोटरको आधारमा एवोन यूटी ठूलो देखिन्छ । कम्पनीले यसमा ४४ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ । जबकी, यसमा १०० किलोवाट क्षमताको मोटर दिइएको छ । यसले सिंगल चार्जमा ३४० किलोमिटर हाराहारी रेन्ज दिन्छ ।


यूटीभन्दा सानो साइजको जियोमीमा ३० र ४० किलोवाट आवर क्षमताको दुई ब्याट्री अप्सन छ । यसको टप भेरियन्टमा ८० किलोवाटको मोटर छ । यसले पनि ३४० किलोमिटर हाराहारी रेन्ज प्रदान गर्छ ।

चीनमा मूल्य उस्तै

चीनमा यी दुई कारको टप भेरियन्टको मूल्य १४ हजार अमेरिकी डलर हाराहारी छ । नेपालमा फरक आयातकर्ताले ल्याउने भएको कारण आफ्नो ब्राण्ड रणनीति अनुसार फरक मूल्य निर्धारण गरेर अगाडि जाने देखिन्छ ।

कुन किन्दा ठिक ?

अहिले अन्तर्राष्ट्रिय बजारमा रहेको स्पेकका आधारमा केही व्याख्या गरिएको हो । नेपाली बजारमा आउँदा कति फिचर परिवर्तन भएर आउँछ, एकिन साथ भन्न सकिँदैन । त्यसैले यतिकै भरमा कुन किन्दा ठिक हुन्छ भनु उपयुक्त देखिँदैन ।


Back_to_top