काठमाडौं । गत असार २४ गते बिहान आएको बाढीले क्षतिग्रस्त स्याफ्रुबेँसी-रसुवागढी सडक संचालनमा आएको छ ।
बाढीपहिरोले क्षतिग्रस्त बनाएको उक्त सडक मर्मत सम्भार गरेर १३ दिन पछि खुलाइएको हो ।
गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक आयोजनाका सूचना अधिकारी ई. अमरेन्द्र कुमार यादवले २४ गतेदेखि अवरुद्ध स्याफ्रुबेँसी-रसुवागढी सडक आजदेखि खुलाइएको जानकारी दिए ।
उनका अनुसार बाढीपहिरोले क्षति पुर्याएको १४ बढी स्थानको १२०० मिटर बढी सकड मर्मत गरी खुलाइएको हो । बाढीले बगाएको ठाउँमा भित्तो कटान गरी नयाँ सवारी आवत जावत गर्न सक्ने बनाइएको हो । बाढीले रसुवागढी, टिमुरे, लिङलिङ लगायत क्षेत्रमा धेरै क्षति पुर्याएको थियो ।
‘२४ गते आएको बाढीले स्याफ्रुबेँसी-रसुवागढी सडक क्षतिग्रस्त बनाएको थियो । १ दर्जन बढी ठाउँमा सडक बगाएको थियो भने केही ठाउँमा पहिरो खसेको थियो । त्यो सबै सडक मर्मत गरी आजदेखि खुलाइएको छ,’ उनले मेरोअटोसँग भने ।
रसुवागढी पुग्ने सडक खुले पनि नेपाल-चीन जोड्ने पुल नहुँदा दुई देशको बीच आवतजावत हुनसक्ने अवस्था छैन । सरकारले बगाएको पुल भएको स्थानमा नयाँ पुल बनाइदिन चीन सरकारलाई आग्रह गरेको छ । चिनियाँ पक्षले पनि पुल बनाइ दिने प्रतिबद्धता जनाएको छ । तर, उक्त पुल कहिलेसम्म निर्माण हुन्छ भन्ने टुंगो छैन ।


