अब तपाईको मोटरसाइकल र कारमा नयाँ नम्बर प्लेट !

काठमाडौं । यातायात व्यवस्था विभागले फागुन भित्रै इम्बोस्ड नम्बर प्लेट छाप्न सुरु गर्ने भएको छ । विभागले हाल इम्बोस्ड नम्बर प्लेट प्रिन्टका लागि आवश्यक तयारीको काम गरिरहेको महानिर्देशक गोगन हमालले जानकारी दिए ।

उनले इम्बोस्ड नम्बर प्लेटको लागि कार्यालय व्यवस्था र प्रिन्टर मेसिन सेटको काम भइरहेको जानकारी दिए । साथै, अहिलेसम्म पनि अदालतको पूर्ण पाठ नआएको कारण नम्बर प्लेट छपाई सुरु हुन नसकेको बताए ।

‘इम्बोस्ड नम्बर प्लेट लगाउन प्रदेशहरुसँग समन्वयन गर्नु पर्ने हुन्छ, त्यसको तयारी गरिरहेका छाैँ, फागुन भित्रै इम्बोस्ड नम्बर प्रिन्टको काम सुरु गर्न सकिन्छ,’ महानिर्देशक हमालले मेरोअटोसँग भने ।

उनले अदालतको पूर्णपाठ आए सँगसँगै इम्बोस्ड नम्बर प्रिन्ट र आवेदन अनुसार गाडी तथा मोटरसाइकलमा लगाउन सुरु गर्न सकिने जनाए ।
१७ जेठ २०७३ मा नेपाल सरकारले औपचारिक रुपमा सुरुवात गरेको इम्बोस्ड नम्बर प्लेट छाप्ने काम त्यसमा प्रयोग भएको अक्षरलाई कारण देखाउँदै सर्बोच्च अदालतमा मुद्दा परेसँगै रोकिएको थियो ।

सवारीसाधनको नम्बर प्लेटमा अंग्रेजी कि नेपाली भाषा राख्ने मुद्दा सर्वोच्च अदालतले खारेज गरिदिएको हो । नेपाली भाषा तथा राष्ट्रियतामाथि गम्भीर आघात पुगेको भन्दै रिट सर्वोच्च अदालत सम्म पुगेको थियो ।

गत मंसिर २७ सर्वोच्च अदालतले उक्त रिट खारेज गरिदिएपछि इम्बोस्ड नम्बर प्लेट छाप्ने काम सुरु गर्ने तयारी भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको पाँच न्यायाधीशको संवैधानिक इजलासले अधिवक्ताद्वय भरतकुमार बस्नेत र राजन बुर्लाकोटीले हालेको उक्त रिट खारेज गर्ने निर्णय गरेको थियो ।

उक्त रिट खारेज भएको करिब २ महिना हुन लागिसक्दा पनि अदालतको पूर्ण पाठ नआएका कारण इम्बोस्ड नम्बर प्लेटको छपाई सुरु हुन सकेको छैन ।

२०७४ फागुन ६ मा रिट दर्ता भए पश्चात् इम्बोस्ड नम्बरको प्रिन्टीङ कार्यमा रुकावट आएको थियो । अदालतले उक्त रिट गत मंसिरमा खारेज गरेता पनि पुन इम्बोस्ड नम्बर प्रिन्टीङको काम सुरुवात हुन सकेको छैन पाएको ।

सरकारले इम्बोस्ड नम्बर प्लेट जडान गर्ने ठेक्का दिँदा बंगलादेश र अमेरिकाको ज्वाइन्ट भेन्चर कम्पनी डेकाटुर टाइगरसँग गरिएको सम्झौतामा ‘सरकारका कारण बाधा भई तोकिएको समयावधिमा काम पूरा नभए ठेक्काको ९५ प्रतिशत रकम ठेकेदार कम्पनीले पाउने’ व्यवस्था गरिएको छ ।

अहिले बजारमा तिन थरीका नम्बर प्लेट भएका सवारी साधनहरु गुडिरहेका छन् ।


Back_to_top