काठमाडौं । सरकारले हिजो भदौ १ गतेबाट सवारीसाधनको प्रदूषण जाँचमा फेल भए चारपांग्रे सवारी साधन गुडाउनै रोक लगाउने काम सुरु गरेको छ ।
यातायात व्यवस्था विभागले प्रदूषण जाँचमा फेल भएका सवारी साधनले अत्याधिक मात्रामा वातावरण प्रदूषण गरेको भन्दै गुड्न रोक लगाउन सुरु गरेको हो ।
काठमाडौं उपत्यकामा यातायात व्यवस्था कार्यालय एकान्तकुना, ठूलोभर्याङ, टेकु, नागढुंगा, बल्खुल, भक्तपुरको सल्लाघारी लगायत स्थानबाट सवारी साधनको प्रदूषण जाँच गर्न सकिनेछ ।
काठमाडौं उपत्यका बाहिर रहेका १३ वटै यातायात व्यवस्था कार्यालयबाट सवारी साधनको प्रदूषण जाँचको व्यवस्था गरिएको छ ।
उपत्यकासहित देशभरका महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा चल्ने चार पांग्रे सवारी साधनले अनिवार्यरूपमा प्रदूषण जाँच पास गरेर हरियो स्टिकर लगाउनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन ०४९ को दफा १६० को ३ अन्तर्गत सवारी जाँच नगरेका सवारी साधनलाई दुई सय देखि एक हजार रूपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान छ ।
प्रदूषण फेल भएका सवारी साधन मर्मतसम्भार गरेर पुनः प्रदूषण जाँचमा पास भएमा फेरि सञ्चालन गर्न सकिनेछ । विभागले सवारीको प्रदूषण चेकजाँचका लागि आफूलाई पायक पर्ने यातायात व्यवस्था कार्यालयमा जान अनुरोध गरेको छ ।
सवारी साधनको प्रदूषण जाँच गर्न ३५ रूपैयाँ लाग्ने विभागले जनाएको छ । हाल विभाग सगँ सवारी साधनको प्रदूषण जाँच गर्न ५० थान मेसिन रहेका छन् । तर सवारीसाधन भने ६ लाख रहेका छन् ।


