अटोमोवाइलसँग सम्बन्धित उद्योग खुल्न थालेका छन्ः नाडा उपाध्यक्षको अन्तर्वार्ता

 नयाँ आर्थिक वर्ष २०७५/०७६ सुरु भएको छ । नयाँ आर्थिक वर्षमा ल्युव उद्योगहरूले कस्तो प्लान बनाएर अगाडि बढिरहेको छ ? 

अहिले ल्यूव उत्पादन गर्ने झन्डै १० वटा उद्योगहरू सञ्चालनमा रहेका छन् । यसको समग्र बजार हेर्ने हो भने ४–५ वर्ष यतामात्रै बढ्दै गएको छ । जसरी यातायातको क्षेत्रको सङ्ख्यात्मक वृद्धि भयो, त्यहीअनुसार अटोमोबाइलसँग जोडिएर आएका उद्योगहरूको विकास हुँदैआएको छ । अहिले नेपालमा ल्यूवको बजार झन्डै ६०० करोड बराबर रहेको हामीले आँकलन गरेका छौँ । त्यसमा अझै पनि ठूलो हिस्सा विदेशी उत्पादनहरू ओगटेको अवस्था छ ।

हामी स्वदेशी उत्पादनको बजार हिस्सा बढाउन प्रयास गरिरहेका छौँ । अबको केही समयपछि नेपाली उत्पादनको बजार हिस्सा ५० प्रतिशत पुर्याउने लक्ष्यसहित हामी पूर्वाञ्चल ल्यूव आयाललगायतका कम्पनीहरू प्रयासरत रहेका छौँ । आउने साल हाम्रो कम्पनीको लागिमात्र नभएर देशमा सञ्चालनमा रहेका सबै कम्पनीको अवस्था राम्रो देखिएको छ, तर सँगसँगै एउटा चुनौती पनि हाम्रो अगाडि देखापरेको छ । इलेक्ट्रीक गाडीहरू आउन सुरु भएका छन् । यी सवारी साधनले ल्यूवको प्रयोग गर्दैनन् । त्यसको अलावामा कसरी व्यवसाय अगाडि लाने भनेर हामी सोचिरहेका छौँ ।

नयाँ एसेम्बल उद्योग आउँदा पनि उसले ५ वर्षभित्रमा २५/३० प्रतिशत भ्यालूएड पुर्याउनुपर्छ भनेको छ । यसले नेपालमा स्पेयर पाट्सकाे उद्योगहरू अब खुल्दै जानेछन् । 

सँगसँगै नेपालमा उद्योग, कलकारखाना, पूर्वाधार आदि विकास हुन धेरै बाँकी रहेको अवस्था, हाइड्रोपावर बन्दै गरेको अवस्था र देशलाई विकासको बाटोमा लान अझै धेरै काम बाँकी रहेको हुनाले देशमा अझै पनि हाम्रो उद्योगको भविष्य राम्रो रहेको मान्न सकिन्छ ।

अहिले स्वदेशी उद्योगको ३० प्रतिशत मार्केट शेयर रहेकोमा यसलाई बढाएर ५० प्रतिशत पुर्याउन सरकारले कस्तो व्यवस्था गरे सहज हुन्छ ?

अहिलेको अवस्थामा सरकारले संरक्षण दिने हो भने सहजै ५० प्रतिशत पुग्छ । तर, संरक्षण माग गर्नु पहिला हामीले बुझ्नुपर्ने कुरा के हो भने खुल्ला बजार अर्थतन्त्र र स्वतन्त्र व्यापार गर्न पाउने अधिकारको विरुद्ध त बोल्न सक्दैनौँ ।

यदि हामीलाई वास्तविकरुपमा यस्ता उद्योग चाहिएको हो भने यसका उत्पादन सरकारी निकायले उपभोग गर्नुपर्छ । व्यवसायीलाई संरक्षण गर्यो भने उसले अर्को लगानी गर्छ ।

नेपाली उत्पादन क्वालिटी र क्वान्टिटीमा छ, तर पनि बिक्री गर्न नसक्नु भनेको हाम्रो उत्पादन लागत प्रतिस्र्धी नभएर हो । नेपालमा उत्पादन गरेकोभन्दा विदेशबाट आएको वस्तुको मूल्य बराबर वा कम हुने हुँदा हामीलाई केही समस्या भइरहेको छ ।

यसको सामाधान गर्न सरकारले केही प्रतिशत भन्सार तयारी वस्तुमा बढाउने र यहाँ भएका उद्योगहरूको सामान प्रयोग गरेर संरक्षण गरिदिने हो भने हाम्रा उद्योगको बिक्री बढ्छ र सजिलै ५० प्रतिशत पुर्याउन सकिन्छ ।

बजेटबाट सरकारले सवारीसाधनमा सीसीका आधारमा अन्तःशुल्कको वृद्धिसँगै सडक दस्तुर व्यापकरुपमा वृद्धि गरेको छ, यसले समग्र अटो क्षेत्रको विकासका लागि कस्तो असर पार्छ ?

अटोमोवाइल व्यवसायमा सरकारले कर बढाएको विषयलाई हामीले विरोध गरिसकेका छौँ । हामी व्यवसायी भनेको माध्यममात्र हो, कर व्यवसायीलाई बढाइएको होइन । जनतालाई नै हो । पक्कै यसले हामी ब्यवसायीलाई समस्या पर्छ, तर यसले सहजता प्रदानमा सरकार चुक्दैछ भन्ने देखाएको छ ।

सरकारले यदि नागरिकको हित हेर्छ र विकास भएको देख्न चाहान्छ भने सुविधा दिनुपर्छ, भार थप्ने होइन । त्यो कर्तव्यमा चुकेर सरकारले व्यवसायीबाट कर लिन्छु र देश चलाउँछु भन्ने जबसम्म सोचिन्छ, तबसम्म यसले नकारात्मक असर गर्छ । 

हामीले पहिलेदेखि अटोमोवाइको कर नघटाए पनि नबढाओस् भन्ने चाहना राखेका थियौँ । यसपटक दुई तिहाईको शक्तिशाली सरकार छ, सरकारले केही राम्रै कुराहरू गर्ला भन्ने आशा पनि थियो र छ पनि । तर, बीचमा आएर सरकारले करको दायरा अत्याधिक बढाएको छ, यसले जनजीविकामा समस्या हुने आँकलन सुरु भएको छ । समग्रमा कर बढाएकोमा भन्दा पनि हामीलाई बाटो नबनाएकोमा चिन्ता छ ।

स्पेयर पाट्स आयातमा निकै समस्या छ भनेर ब्यवसायीहरू गुनासो गरिरहेका छन् । ती कस्ता समस्या हुन् । त्यसको समाधानका लागि कसरी काम गर्दै हुनुहुन्छ ?

स्पेयर पाट्स व्यवसायमा भन्सारमा सधैँ झमेला हुने गरेको छ । यसलाई समाधान गर्न हामीले सरोकारवाला निकायलाई सधै घच्घचाई रहेका छौँ ।

अब नेपालमा नै केही स्पेयर पार्टससँग सम्बन्धित उद्योगहरू खुल्न थालेका छन् । नयाँ एसेम्बल उद्योग आउँदा पनि उसले ५ वर्षभित्रमा २५/३० प्रतिशत भ्यालूएड पुर्याउनुपर्छ भनेको छ । यसले नेपालमा स्पेयर पाट्सकाे उद्योगहरू अब खुल्दै जानेछन् । 

नाडा अटो–शोको तयारी कस्तो भइरहेको छ ?

नाडा अटो–शो हाम्रो सबैभन्दा ठूलो इभेन्ट हो । यो हामीले हरेक वर्ष गर्दैआइरहेका छौँ । अटो–शोमा हामी आफ्नो व्यवसायको प्रवद्र्धनमा जुट्छौँ । नाडा अटो–शोबाहेक पनि हामी व्यवसायीहरू कसरी स्वच्छ व्यवसाय गर्न सकिन्छ भनेर छलफल गर्ने गर्छौँ । यस वर्ष भदौ २६ गतेदेखि ३० गतेसम्म अटो–शो काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको छ ।

सातवटै प्रदेशमा नाडा विस्तार गर्ने कुरा पनि उठिरहेको छ नि ?

नाडाको विधान संशोधन गर्ने कार्यहरू भैरहेको छ । भरसक हामीले प्रदेशको नामाङ्करण भैसकेपछि सातवटै प्रदेशमकमा नाडाको उपस्थिति गराउनुपर्छ । अहिले भएका संस्थागत सदस्यहरूलाई बढाएर हामीले सातै प्रदेशमा पुर्याउने र नाडाको एक्टीभिटिज त्यहाँ पनि गर्ने भनेर लागि परेका छौँ । अहिले प्रदेशको नाम नभएका कारण हामी रोकिएका छौँ ।


Back_to_top