यूरोपमा चिनियाँ कारलाई ५ वर्ष थप कर

काठमाडौं । यूरोपियन यूनियनका सदस्य राष्ट्रहरु बीच चिनियाँ कारमा अतिरिक्त कर लगाउने वा नलगाउने भन्ने विषय पेचिलो बन्दै आएको थियो । इयू सदस्य राष्ट्रहरुले यस विषयलाई मतदान मार्फत टुङ्गो लगाएका हुन् ।

शुक्रबार भएको निर्वाचनमा पक्ष विपक्षमा परेको मतको विषयमा केही खुलाईएको छैन । तर, यूरोपियन यूनिनले जारी गरेको विज्ञप्ती अनुसार आगामी ५ वर्षको लागि चिनियाँ कारमा थप कर लगाउन सदस्य राष्ट्रहरुले अनुमति दिएको उल्लेख छ ।

‘यूरोपेली आयोगले गरेको चिनियाँ सरकारी अनुदान विरोधी अनुषन्धानले निकालेको निश्कर्षको कार्यान्वयनमा अर्को कदम हो’, इयूले जारीगरेको विज्ञप्तीमा उल्लेख छ ।

यता चीनले भने इयूको उक्त निर्णय विश्व ब्यापार संगठन (डब्लूटीओ)को भावना र मर्म विपरित रहेको भन्दै यसका विरुद्ध कानुनी बाटो खोज्ने बताएको छ ।

के हो घटना ?

पछिल्ला वर्षहरुमा चीनमा ईभीको उत्पादन र प्रयोग दुबै तिब्र गतिमा बिस्तार भइरहेको छ । सरकारले ठूलो धनरासी ईभी उत्पादनमा अनुदान दिने भएको कारण चिनियाँ ईभीको प्रतिस्पर्धी क्षमता बढ्दो क्रममा छ । साथै, चीन बाहिर उनिहरुले तिब्र गतिमा आफ्नो उत्पादन पठाउन थालेका छन् ।

त्यसबाट झस्केर यूरोपियन कमिसनले चीन सरकारले निकै सस्तो विद्युतीय कार उत्पादन गर्दै आएको र यूरोपका बजारमा निकै कम मूल्यमा कार उपलब्ध गराएको कारण पुरै यूरोपका कार निर्माताको बजार ध्वस्त हुने चरणमा रहेको आरोप लगाएको थियो ।

चिनियाँ ब्राण्ड एकपछि अर्को गर्दै यूरोपमा प्रबेश गरिरहेको र यूरोपियन अटो ब्राण्डको तुलनामा अत्याधिक सस्तो मूल्यमा बिक्री हुन थालेपछि यूरोपियन यूनियन झस्किएको हो । अमेरिकाले अहिलेसम्म चिनियाँ अटोमावाइल ब्राण्डलाई बिक्री गर्न दिएको छैन ।

कुन ब्राण्डलाई कति कर ?

इयूको नयाँ निर्णय अनुसार अमेरिकी ब्राण्ड टेस्लाका चीनमा बनेका कारमा ९ प्रतिशत कर लाग्ने छ । त्यस्तै यूरोपियन ब्राण्ड बीएमडब्लु र फक्सवागेनका चीनमा निर्मित कारमा २१.३ प्रतिशत कर निर्धारण गरेको हो ।

बीवाइडीका कारमा १७ प्रतिशत, जिली ब्राण्डका कारमा १९.३ प्रतिशत र एसएआईसीका ग्रुपले उत्पादन गर्ने कारमा ३६.६ प्रतिशत अतिरिक्त कर निर्धारण गरिएको हो।


Back_to_top