काठमाडौं । सन् २०१५ ताका नेपालमा युरोपियन ब्राण्डका कारहरूमा धेरैको चासो देखिन्थ्यो । त्यतिबेला स्कोडा, फक्सवागेन, फियाट जस्ता ब्राण्डलाई मास मार्केटभन्दा माथि राखेर हेरिन्थ्यो ।
सन् २०१७ मा नेपाल आएको रेनोले अलगै पहिचान बनायो । मूल्यका हिसाबले सस्तो र युरोपियन डिजाइनका कारण रेनोलाई धेरैले भरपर्दो ब्राण्ड माने । अहिले मृत्युवरणको संघारमा सबै युरोपियन ब्राण्ड पुगेका छन् ।
युरोपियन ब्राण्ड एकपछि अर्कोले राम्रो गर्न नसक्नुको पछाडि सर्भिस र स्पेयर पार्टस् सहज रूपमा उपलब्ध नहुनु रहेको मानिन्छ । भारतमा उत्पादन भएका युरोपियन गाडीको पार्टस् सहजै उपलब्ध भए पनि भारत बाहेकको देशबाट आयात गरिने गाडीको स्पेयर पार्टस्मा समस्या रहेको ब्यवसायीहरू नै बताउँछन् ।
सर्भिसको समस्याले मात्रै युरोपियन कारहरू कमजोर बनेका होइनन् । युरोपियन कारहरू सेकेण्ड ह्याण्ड बजारमा रिसेल मूल्य नआउने र किन्दा सुरूमै महँगो मूल्य तिर्नुपर्ने भएको कारण पनि बिक्री कमजोर बन्दै गएका हुन् । यसका अलवा पनि अन्य धेरै कारण युरोपियन कारले नेपालमा बजार गुमाउँदै गएको देखिन्छ ।
फिचर कम, मूल्य धेरै
अहिले बजारमा उपलब्ध कारमा फिचरहरूको लामो लिस्ट पाउन सकिन्छ । तर, युरोपियन कारहरू फिचरमा निकै कमजोर देखिन्छन् । साथै, लग्जरीको मामलामा पनि युरोपियन कार औसत मात्रै हुन् ।
फिचरका हिसाबले कमजोर मानिने युरोपियन कारहरू मूल्यका हिसाबले धेरै पर्ने लाग्छन् । विशेषगरी जापानी ब्राण्डका कारसँग प्रतिस्पर्धा गर्दा कम मूल्य लाग्ने युरोपियन कारहरू भारतीय र चिनियाँ मोडलहरूसँग प्रतिस्पर्धा गर्न नसकेका कारण मृत्युको मुखमा पुगेका हुन् ।
इलेक्ट्रीकको बढ्दो माग
सन् २०२१ को अन्तिमबाट नेपाली बजारमा विद्युतीय गाडीको माग उच्च बन्न पुग्यो । ईभीको बिक्री बढ्दा पेट्रोलियम पदार्थबाट चल्ने कारको माग घट्दै गयो । युरोपियन ब्राण्डले अहिलेसम्म नेपालमा एउटा पनि मोडल ल्याउन नसक्दा उनीहरूको बजार सकिँदै गयो ।
अझै केही समय युरोपियन ब्राण्डको प्राथमिकतामा नेपाली बजार नरहेको कारण ईभी आउने सम्भावना छैन । बिना ईभी कुनै पनि ब्राण्ड नेपालमा बाँच्न सक्ने अवस्था छैन ।
चिनियाँ उत्पादनसँग टिक्नै सक्दैनन् युरोपियन ब्राण्ड
नेपालमा अहिले चिनियाँ उत्पादनहरूको बोलवाला रहेको छ । फिचर लोडेड कारहरू उत्कृष्ट मूल्यमा अफर गरिरहेका चिनियाँ ब्राण्डले नेपाललाई निकै प्राथमिकतामा राखेका छन् । चिनियाँ उत्पादकले चीनपछि धेरै मोडलहरू नेपालमा सार्वजनिक गर्दै आएको हामीले पाएका छौं ।
मूल्य र फिचरको बजोड प्याकेज रहेका चिनियाँ ईभीसँग प्रतिस्पर्धा गर्न कुनै पनि कोणमा युरोपियन ब्राण्ड सक्षम देखिँदैनन् । त्यसैले त पूरै युरो जोनमा चिनियाँ कारलाई अतिरिक्त कर लगाइएको छ ।

