विद्युतीय कारमा भारतको दबदवा, चिनियाँ पच्छाउँदै (मार्केट सेयरसहित)

काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा भारत, चीन, दक्षिण कोरिया, इन्डोनेशिया, अमेरिका र बेलायतबाट बिद्युतीय कार आयात भएको छ । एक वर्षमा कुल ४ हजार ५० यूनिट आयात भएको हो ।

भारतबाट आयात भएको विद्युतीय कारको संख्या सबैभन्दा धेरै छ । भारतबाट आयात भएका विद्युतीय कार सबैभन्दा धेरै २ हजार २७७ यूनिट आयात भएको देखिन्छ ।

भारतबाट आयात भएको विद्युतीय कार अधिकांश टाटा ब्राण्डका हुन् । केही यूनिट मात्रै सिट्रोनको ईसीथ्री आयात भएको छ । भारतबाट ६ अर्व १५ करोड ६० लाख १९ हजार मूल्यका विद्युतीय गाडी आयात भएको हो ।

दोस्रो धेरै कार आयात भएको देश चीन हो । चीनबाट एक वर्षको अवधिमा १ हजार ३७१ यूनिट कार आयात भएको छ । विभिन्न कम्पनीले चीनबाट विद्युतीय गाडी आयात गरेका छन् । जसमा एमजी, बीवाइडी, नेटा भी, हेनरी लगायतका ब्राण्डका ईभी ल्याउँदै आएका छन् ।

चीनबाट एक वर्षको अवधिमा ४ अर्व ९ करोड ८३ लाख ६० हजार रुपैयाँ बराबरको ईभी अयात भएका छन् ।

तेस्रो धेरै ईभी दक्षिण कोरियाबाट आयात भएका हुन् । दक्षिण कोरियाबाट हुन्डाई ब्राण्डका ईभीहरु आयात भएका हुन् । हुन्डाईको कोना र आयोनीक-५ नेपाल आयात भएका छन् । यी ईभी आयातमा १ अर्व ४९ करोड ३४ लाख ५३ हजार रुपैयाँ खर्च भएको छ ।

इन्डोनेशियाबाट विलिङ एयर मिनी ११ यूनिट आयात भएको छ । ती गाडी २ करोड ३५ लाख ६९ हजार रुपैयाँ खर्च गरेर आयात भएका हुन् ।

अमेरिकाबाट टेस्ला ब्राण्डका ९ यूनिट गाडी आयात भएका छन् । साथै, बेलायतबाट पनि १ यूनिट कार आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । यी १० यूनिट गाडी आयात गर्दा ५ करोड ४२ लाख ३५ हजार रुपैयाँ खर्च भएको छ ।

गत आर्थिक वर्षमा कुल ११ अर्व ८४ करोड ८ लाख ९५ हजार मूल्यका विद्युतीय कार आयात हुँदा नेपाल सरकारले भन्सार विन्दुमा पाउने राजश्व ३ अर्व ३० करोड ४४ लाख ८७ हजार रुपैयाँ पाएको छ ।


Back_to_top