काठमाडौं । सेकेन्ड ह्याण्ड कारको बजार निकै कमजोर देखिएको छ । नयाँ गाडीको ब्यापार ६० प्रतिशतले घटेसँगै रि-कन्डिसनमा पनि गाडीको कारोबार निकै कमजोर भएको हो ।
अहिले काठमाडौं उपत्यकामा रहेका ठूला-साना सबै सेकेन्ड ह्याड कारको कारोबार गर्ने ठाँउमा गाडी टनाटन थुप्रेका छन् । अहिले सेकेन्ड ह्याण्ड कार खोज्नेले १० देखि ३० लाख मूल्य हाल्दा निकै आकर्षक कार पाउन सकिन्छ । तर, ती गाडी किन्ने पनि ग्राहक छैनन् ।
काठमाडौं अटोमोवाइल, बाबा बसेरा, हाम्रो मोटर्स, राम्रो मोटर्स, श्रेया अटोमोवाइल, सोयम्भुनाथ रि-कन्डिसन हाउस, बौद्धनाथ रिकन्डिसन हाउस जस्ता धेरै कारोबार गर्ने कम्पनीहरुमा अहिले ठूलो परिमाणमा गाडीहरु छन् ।
साना कारहरु पहिला रिकन्डिसन हाउसमा आएको २-३ दिनमा नै बिक्री हुन्थ्यो । अहिले महिनौ दिनमा पनि यस्ता गाडीहरु बिक्री भएका छैनन् । गाडी बिक्री नहुनुमा मानिसको आम्दानीसँग जोडिए देखिन्छ ।
‘गाडी किन्न सक्ने मानिसको आम्दानी घट्दो छ । यस्तो अवस्थामा गाडी किन्नुभन्दा अन्य कारोबार मिलाउने दवावमा मध्यम वर्ग परेको कारण गाडी रि-कन्डिसनमा गाडीको बिक्री कमजोर भएको हो’, काठमाडौं अटोमोवाइलका संचालक शैलेन्द्र श्रेष्ठले भने ।
सेकेन्ड ह्याण्ड बजारमा गाडीको बिक्री कमजोर हुनुमा सहकारीले कर्जा दिन नसक्नु, सबै किसिमका खुद्रा ब्यवसायमा गिरावट आउनु, उच्च ब्याजदरको कारण साना मझौला ब्यवसायीहरुले समस्या भोग्नु परेको अटोमोवाइल ब्यवसायीको भनाई छ ।
‘पुराना गाडी किन्नेलाई सहकारीले कर्जा दिन्थे । अहिले सहकारी कर्जा उठाउन नसकेर समस्यामा छन् । त्यसैले पुराना गाडीको बिक्री कमजोर बनेको हो’, श्रेया अटोमोवाइलका सचिन कुईँकेलले भने ।
नजिकिदै गरेको चाडपर्वमा पुराना गाडी खोज्ने ग्राहक बढ्ने आशामा काम गरिरहेको धारणा राख्छन् सबै ब्यवसायी । नाडा अटो शो पनि हुँदैछ । बजारमा ब्याजदर पनि केही घटेको छ । विस्तारै अर्थतन्त्रमा सुधार देखिएको छ । यसले आगामी चाडपर्वमा ब्यापारमा सुधार हुने उनिहरुको बुझाई छ ।
साना कार प्रसस्तै
अहिले सबै रि-कन्डिसन हाउसमा १० लाखदेखि ३० लाख मूल्यका साना कार उपलब्ध छन् । बजारमा हुन्डाई, मारुती सुजुकी, फोर्ड जस्ता ब्राण्डका कारहरु राम्रो कन्डिसनमा किन्न पाइन्छ ।
यदि ठूला गाडी किन्न चाहेको खण्डमा पनि रि-कन्डिसन हाउसमा जत्ति पनि पाउन सकिने अवस्था छ । अहिले १ करोड रुपैयाँसम्मका सेकेन्ड ह्याण्ड कार बजारमा प्रसस्तै पाइन्छ । निसान, टोयोटा, मित्शुवीसी, महिन्द्रा, टाटा, स्कोडा, फक्सवागेन, माज्दा जस्ता ब्राण्डका एसयूभीहरु रि-कन्डिसन हाउसमा किन्न पाइन्छ ।
बढ्ला बिक्री ?
बजारमा कारको माग तत्काल बढ्ने अवस्था छैन । तर, आगामी चाडपर्वको समयमा मानिसहरुको खर्च गर्ने बानी पर्दै आएको छ । त्यहि बानीको कारण यदि कारको आवश्यकता परिरहेका मानिसले भने किन्न सक्ने अवस्था देखिन्छ ।
तर, दुई वर्ष अगाडिको जस्तो काठमाडौंमा सेकेन्ड ह्याण्ड कारको माग पुरा गर्न उपत्यका बाहिरबाट गाडी ल्याउनु पर्ने अवस्था अझै लामो समय आउने देखिदैन ।


