काठमाडौं । दुई वर्षपछि भारतलाई उछिन्दै चीनबाट धेरै इलेक्ट्रीक कार आयात भएको छ । विक्रम सम्बत २०७८ बैशाखपछि पहिलो पटक भारतलाई उछिन्दै चीनबाट धेरै ईभी आयात भएको हो ।
भन्सार विभागले सार्वजनिक गरेको बैशाख २०८० को आयात तथ्यांकको आधारमा भारतलाई उछिन्दै चीन अगाडि बढेको हो । बैशाख महिनामा बीवाइडी, एमजी र नेटा भी जस्ता मोडलको आयात बढेसँगै चिनियाँ ईभीको आयात बढेको देखिन्छ ।
बैशाख महिनामा आयात भएको कुल ५०४ यूनिट ईभी मध्ये चीनबाट २८१ यूनिट १०० किलोवाट आवरको ईभी आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । यही अवधिमा भारतबाट २१३ यूनिट ईभी आयात भएको छ । भारतबाट अहिले टाटाको नेक्सन ईभी र टिगोर ईभी आयात हुँदै आएको छ ।
बैशाख महिनामा सबैभन्दा कम ईभी कोरियाबाट आयात भएको छ । कोरियाबाट हुन्डाई कोना र आयोनीक फाइभ ईभी आयात हुँदै आएको छ । बैशाख महिनामा कोना ९ यूनिट र आयोनीक फाइभ एक यूनिट मात्रै आयात भएको देखिन्छ ।
इन्डोनेशिया र अमेरिकाबाट पनि ईभी आयात हुँदै आएको भएपनि बैशाखमा त्यहाँबाट एक यूनिट पनि आयात भएको छैन । चालु आर्थिक वर्षको १० महिनामा २ हजार ९५५ यूनिट इलेक्ट्रीक कार आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।


