काठमाडौं । जापानी अटोमोवाइल ब्राण्ड होन्डाले चीनमा उत्पादन गर्दै आएको सीएल सिरिजका मोटरसाइकल भारतमा पनि बनाउने भएको छ । होन्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले ‘सीएल’ नामबाट प्याटेन्ट दर्ता गराएको हो ।
सन् २०२२ मा होन्डाले चिनियाँ बजारमा सीएल ३०० मोटरसाइकल सार्वजनिक गरेको थियो भने, २०२२ कै इआसीएमए शोमा सीएल ५०० सार्वजनिक गरेको थियो ।
स्क्रयाम्वलर डिजाइनमा आउने सीएल मोटरसाइकल २५० सीसी वा ३०० सीसी क्षमताको कुन इन्जिनमा ल्याउने भन्ने बिषयमा केही खुलाइएको छैन । झट्ट हेर्दा यो मोटरसाइकले रोयल इनफिल्ड हन्टर ३५० सँग प्रतिस्पर्धा गर्नेछ ।
कम्पनीले चिनियाँ बजारमा ल्याएको सीएल ३०० र ५०० को डिजाइनमा समान रहेको छ भने अब आउन सक्ने सीएल २५० को डिजाइन पनि सीएल ३०० कै समान हुनेछ ।
कम्पनीले भारतीय बजारमा ल्याउने सीएल २५० मा २४९ सीसी लिक्वीड कुल्ड सिंगल सिलिन्डर इन्जिन रहने अनुमान गरिएको छ । यो इन्जिन होन्डाले क्रुजर मोटरसाइकल रिवेल २५०मा प्रयोग गर्दै आएको छ ।
सीएलमा भने रिवेलभन्दा केही बढी पावर हुने अनुमान गर्न सकिन्छ । होन्डाले सीएल ३०० मा दिएको इन्जिन सीबीआर ३०० आरको इन्जिनलाई थोरै ट्यूनिङ गरेर ५ पीएस बढी पावर दिने बनाएको थियो ।

