काठमाडौं । ब्याट्रीबाट चल्ने कार उत्पादनमा अमेरिकी कम्पनी टेस्ला निकै अगाडि देखिएको छ । तर, चिनियाँ कम्पनी बीवाइडीको तिब्र बिस्तारले टेस्लाको पहिलो स्थान कति समय टिक्छ, एकिन साथ भन्न सकिने अवस्था छैन ।
सन् २०२३ को तेस्रो क्वाटर (जनवरी–सेप्टेम्बर) सम्मको बिक्री अनुसार टप ५ भित्र परेका ठूला कम्पनीले आफ्नो बिक्री र बजार हिस्सा बढाएका छन् ।
न्यू इनर्जी भेहिकलको बजार हिस्सा अनुसार हेर्ने हो भने बीवाइडीले ९ महिनामा २० लाख ७० हजार ५२८ यूनिट कार बिक्री गर्दै २१.९ प्रतिशत बजार हिस्सा ओगटेको छ । सन् २०२२ को पहिलो ९ महिनामा बीवाइडीको बजार हिस्सा केबल १७.३ प्रतिशत मात्रै थियो । बीवाइडी प्लगइन हाइब्रिड र ब्याट्री इलेक्ट्रीक दुबै कार बनाउने कम्पनी हो ।
समग्रमा न्यू इनर्जी भेहिकलमा दोस्रो स्थानमा रहेको टेस्लाले आफ्नो बजार हिस्सा १३.३ बाट बढाएर १४ प्रतिशत बनाएको छ । कम्पनीले २०२३ को पहिलो ९ महिनामा १३ लाख २३ हजार ८६८ यूनिट ब्याट्री इलेक्ट्रीक भेहिकल उत्पादन गरेको हो । अमेरिकी ब्राण्डले पेट्रोलियम पदार्थ हाल्नु पर्ने कुनै किसिमको गाडी बनाउने गरेको छैन ।

जर्मन ब्राण्ड फक्सवागेन ७.२ प्रतिशत बजार हिस्सा सहित तेस्रो स्थानमा छ । कम्पनीले बजार हिस्सा केही घटेको हो । अघिल्लो वर्ष ८ प्रतिशत थियो ।
चिनियाँ ब्राण्ड जिली–भोल्भोको बजार हिस्सा ५.७ प्रतिशत र एसएआइसीको ४.४ प्रतिशत रहेको छ ।
ब्याट्री इलेक्ट्रीकमा टेस्ला लिडर
बीवाइडीको प्लगइन हाइब्रिड निकाल्ने हो भने ब्याट्री इलेक्ट्रीकमा टेस्ला अझै लिडर हो । चालु वर्षको ९ महिनामा १२ लाख २३ हजार ८६८ यूनिट विद्युतीय कार बिक्री गरेको टेस्लासँग २०.१ प्रतिशत बजार हिस्सा रहेको छ । जुन अघिल्लो वर्षको १८.५ प्रतिशतको तुलनामा यस वर्ष बढेको हो ।
दोस्रो स्थानमा बीवाइडी रहेको छ । कम्पनीले ९ महिनाको अवधिमा १० लाख ४८ हजार ५१३ यूनिट मात्रै प्योर इलेक्ट्रीक मोडल बिक्री गरेको छ । कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा रहेको ११.९ प्रतिशतको तुलनामा ईभीको बजार हिस्सा राम्रो बढाएको हो ।

सूचीको तेस्रो स्थानमा ५ लाख १० हजार २०४ यूनिटसहित फक्सवागेन छ । उसले पनि अघिल्लो वर्षको सोही अवधिको ७.४ को तुलनामा थोरै बजार हिस्सा वृद्धि गरेको देखिन्छ ।
सबैभन्दा ठूलो नोक्सानी एसएआईसी–जीएम–विलिङले ब्योहोरेको देखिन्छ । कम्पनीको बजार हिस्सा ९.८ प्रतिशतबाट घटेर ७.५ प्रतिशतमा झरेको छ । कम्पनीले चालु वर्षको ९ महिनामा ४ लाख ९१ हजार ६३३ यूनिट प्योर इलेक्ट्रीक कार बिक्री गर्न सफल भएको छ ।

सूचीको पाँचौ स्थानमा चिनियाँ ब्राण्ड जीएसी प्रबेश गरेको छ । कम्पनीले ९ महिनामा ३ लाख ७३ हजार ७१८ यूनिट कार बिक्री गर्दै पहिलो पटक टप ५ कम्पनीको सूचीमा आफुलाई उकालेको हो ।
सन् २०२३ को पहिलो ९ महिनामा संसारभर ६५ लाख यूनिट प्योर इलेक्ट्रीक कार बिक्री भएको छ । साथै, २९ लाख हाराहारी प्लगइन हाइब्रिड कार बिक्री भएको छ ।

