विद्युतीय कार किन्ने बढेसँगै गाडी पाउनै मुस्कील, कुन कम्पनीको अवस्था कस्तो ?

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत विद्युतीय कारमा लाग्दै आएको अन्तःशुल्क हटाएर भन्सार महसुल कम गरेसँगै इलेक्ट्रीक कार किन्ने बढेका छन् । बजारमाग अनुसार कम्पनीहरुले आपुर्ति गर्न नसकेसँगै विद्युतीय कार पाउनै मुस्किल देखिएको छ ।

अहिले नेपालमा हुन्डाई, किया, एमजी, विवाइडी, दिगो र डेरी ब्राण्डका विद्युतीय कार विक्री भइरहेका छन् । टाटा र निसानले पनि आफ्नो उत्पादन केही दिन भित्रै बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । अहिले विक्री भइरहेका मध्ये डेरी र दिगोसँग केही यूनिट कार उपलब्ध रहेको छ ।

हुन्डाईसँग पनि केही यूनिट कार उपलब्ध रहेको कम्पनी स्रोतले जानकारी दिएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका अनुसार हुन्डाईका गाडी आयत भइरहेका छन् ।

‘हाम्रो गाडी आयात प्रक्रियामा रहेकोले धेरै समस्या नहोला । ग्राहकले आफ्नो छनोटको गाडी बुकिङ गरेको केही दिनमा नै पाउने छन्’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

अहिले एमजी इजेडएस बुकिङ गरेर बस्ने ग्राहक नै धेरै रहेको आधिकारीक विक्रेता पारामाउन्ट मोटर्सले जानकारी दिएको छ ।
‘अहिले हामी बुकिङ लिइरहेका छौं । अहिले बुकिङ गर्ने ग्राहकलाई अगस्टको अन्तिमसम्ममा गाडी दिने योजना बनाएका छौं’, कम्पनीका जनरल मेनेजर सचिन अर्यालले मेरोअटोसँग भने ।

अर्यालका अनुसार विद्युतीय गाडीमा सप्लाई समस्या छ । यो सबै कम्पनीको समस्या हो । त्यसैले विद्युतीय कार किन्न चाहने मानिसले केही समय कुर्नु पर्ने हुन्छ ।

कियासँग पनि अहिले तत्काल गाडी दिनेसक्ने अवस्था नरहेको कन्टिनेन्टल ट्रेडिङका डिजिएम अनिस लामिछाने बताउँछन् । उनि भन्छन्,

‘हामीसँग भएका सबै गाडी बुकिङ भएको छ । ग्राहकले फाइनान्सको काम सकेर विस्तारै लगिरहनु भएको छ ।’

लामिछानेका अनुसार किया निरो नयाँ लटको लागि प्रक्रिया सुरु भइसकेको छ । अब ग्राहकले बुकिङ गर्न सक्ने छन् ।

विवाइडीले पनि आफ्नो सबै गाडी विक्री भइसकेको जानकारी दिएको छ । साइमेक्स इङ्कका प्रवन्ध निर्देशक यमुना श्रेष्ठका अनुसार अब बुकिङ गर्ने ग्राहकले अगस्ट अन्तिमसम्ममा गाडी पाउने छन् ।

‘हामीले नयाँ मोडल इ-६ बजारमा उतारेका छौं । हाम्रो गाडी सर्वाधिक रेञ्ज दिने गाडी हो । अहिले बुकिङ गर्ने ग्राहकलाई हामी अगस्ट अन्तिमसम्ममा डेलिभरी दिने छौं’, श्रेष्ठले भनिन् ।

विद्युतीय कारको मूल्य

अहिले नेपालमा उपलब्ध विद्युतीय कार १९ लाख ५० हजारदेखि ७१ लाख ९६ हजारसम्म मूल्य निर्धारण भएर विक्री हुँदै आएका छन् । सबैभन्दा कम मूल्यको इलेक्ट्री कार डेरी ब्राण्डको एम७ हो भने सबैभन्दा महंगो मूल्य १५० किलोवाट क्षमताको मोटर जडान भएको हुन्डाई कोनाको हो ।

डेरीसँग दुई मोडल, दिगोसँग एक, एमजीसँग एक, कियासँग एक, विवाइडीसँग तीन र हुन्डाईसँग तीन मोडल रहेका छन् ।

लक्ष्य दशैं

सबै कम्पनीहरुको मुख्य लक्ष्य दशैं अगाडि गाडी डेलिभरी दिने रहेको छ । विशेषत नेपालमा चाडपर्वको समयमा धेरै गाडी विक्री हुने हुँदा विक्रेता कम्पनीहरुले त्यहि समय छोप्न गाडी ल्याउने योजना बनाएर काम गरिरहेका छन् ।


Back_to_top