चीनमा बिक्यो १० महिनामा ६८ लाख ईभी, अक्टोबरमा बन्यो विश्व रेकर्ड

काठमाडौं । सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्मको १० महिनामा ६८ लाख यूनिट न्यू इनर्जी भेहिकल बिक्री गर्दै चीनले ईभीमा विश्वलाई नेतृत्व गरेको छ । कम्पनीले यो १० महिनाको अवधिमा ब्याट्री इलेक्ट्रीक र प्लगइन हाइब्रिड गरेर ६८ लाख यूनिट कार बिक्री गरेको हो ।

चीनले न्यू इनर्जी भेहिकल भनेर ब्याट्री इलेक्ट्रीक भेहिकल, प्लगइन हाइब्रिड र हाइड्रोजन फिउल सेलबाट चल्ने साधनलाई भनेको छ । अहिले चीन विश्वकै सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकलको बजार हो ।

चीनमा अक्टोबर २०२३ मा न्यू इनर्जी भेहिकलको बिक्रीमा नयाँ रेकर्ड कायम भएको छ । एक महिनाको अवधिमा नै ८ लाख ९० हजार यूनिट ईभी बिक्री भएको हो । जुन अघिल्लो वर्षको अक्टोबरको तुलनामा ३२ प्रतिशतले धेरै हो । यो विक्री आफैँमा विश्व रेकर्ड पनि हो ।

सन् २०२२ को अन्त्यमा चीन सरकारले २०२३ मा ८५ लाख यूनिट न्यू इनर्जी भेहिकल बिक्री हुने प्रक्षेपण गरेको थियो । जुन वार्षिक प्यासेन्जर कार बिक्री हुने अनुमानित आँकडा २ करोड २५ लाखको ३६ प्रतिशत हाराहारी हो ।

चिनियाँ ब्राण्डहरुको बहुल्यता रहेको ठाँउमा टेस्लाले दोस्रो धेरै कार बिक्री गरेको छ । पहिलो स्थानमा रहेको बीवाइडीले अक्टोबरमा ३ लाख १ हजार ९५ यूनिट कार बिक्री गर्दा टेस्लाले ७२ हजार ११५ यूनिट कार बिक्री गरेको हो ।

धेरै न्यू इनर्जी भेहिकल बिक्री गर्ने कम्पनीको सूचीमा तेस्रो स्थानमा ६२ हजार ८६ यूनिटसहित जिली रहेको छ । सूचीको चौथोमा ५८ हजार यूनिटसहित चांगन रहँदा पाँचौ स्थानमा एसएआईसी÷जीएम÷उलिङले ४४ हजार ६ सय यूनिट बिक्री गरेका छन् ।


Back_to_top