काठमाडौं । रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका–७ स्थित खिम्ती खोलाको छतिवनेमा सडक निर्माण गर्दै गरेको जेसीबीको एस्काभेटर खोलाले बगाएको छ ।
गत वर्ष पहिरो आएको स्थानमा खोलाले फेरी सडक अवरुद्ध बनाएपछि निर्माण गर्ने क्रममा शनिबार खोलाले सो एस्काभेटरलाई नै बगाएको हो ।
यातायात अवरुद्ध भएपछि गोकुलगंगा गाउँपालिकाले छतिवेनमा सडक निर्माणको प्रक्रिया अगाडि बढाएको थियो । पहिरोको कारण अवरुद्ध भएको सडक सञ्चालन गर्न बिहानबाटै काम थालेको थियो ।
एस्काभेटर चलाउने क्रममानै खोला बढी आएर बगाएपनि अपरेटर रामकुमार खड्क भने पौडिएर बाच्न सफल भएका छन् । गोकुलगंगा गाउँपालिका फर्पुका वडा अध्यक्ष चन्द्रबहादुर सुनुवारले अवरुद्ध सडक पुनः सञ्चालन गर्न गाँउपालिकाले नै निर्माणको पहल गरेको बताए । अप्रेटरले खोलाको सतह थाहा नपाउदा पल्टीएको उनको भनाई छ । उनका अनुसार एस्काभेटर अप्रेटर रामकुमार खड्कको अवस्था सामान्य छ ।
वडा अध्यक्ष सुनुवारका अनुसार छतिवने खोला आएको बाढीको कारण गोकुलगंगा, उमाकुण्ड गाउँपालिकामा सञ्चालन हुने यातायात अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा जिरीबाट घुमेर आउनु पर्ने बाध्यता भएको छ । गत बर्ष पनि छतिवनेमा आएको बाढीको कारण मानिसहरुको ज्यान जानुको साथै खिम्तीमा ठूलो नोक्सानी गरेको थियो ।


