फास्ट ट्रयाकमा चौथो सुरुङ पनि छेडियो

काठमाडौं । काठमाडौं-तराई द्रुतमार्ग (फास्ट्रयाक) अन्तर्गत धेद्रे सुरुङ मार्गको सुरुङ ब्रेक थ्रु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ब्रेक थ्रु कार्यक्रम आयोजना भएको हो ।

मकवानपुरको बकैया गाउँपालिका स्थित धेद्रेको सुरुङ ब्रेक थ्रु भएसँगै ले फास्ट ट्रयाकमा पर्ने चौथो सुरुङ छेडिएको हो ।

यसअघि जेठ ४ गते काठमाडौंबाट निजगढतर्फ जाने लेनडाँडामा १६३३ मिटर लामो सुरुङ ब्रेक थ्रु भएको थियो । त्यस्तै जेठ ११ गते निजगढबाट काठमाडौं आउने धेद्रेमा १६५३ मिटर लामो र असार २० गते लेनडाँडाको १६२२ मिटर लामो सुरुङ छेडिएको थियो ।

योसँगै पोलि छङ्गदा निर्माण कम्पनीले ठेक्का लिएको प्याकेज नम्बर दुईका सबै सुरुङ वारपार छेडिएको छ ।

कुल ७०.९७७ किलोमिटर लामो द्रूत मार्गमा कुल १०.३०९ किलोमिटर सुरुङमार्ग रहेको छ । यसमध्ये आज छेडिएको धेद्रे सुरुङ १७२८ मिटर लामो छ ।

यस आयोजनामा कुल ६ स्थानमा सुरुङ बन्दैछन् । जसमध्ये सबैभन्दा लामो ३३५५ मिटर लामो सुरुङ महादेवडाँडामा बन्दैछ । जसको ६५ प्रतिशत काम सम्पन्न भएको नेपाली सेनाले जनाएको छ ।


Back_to_top