काठमाडौं । गत आर्थिक वर्षमा १ हजार ६२६ यूनिट ट्रक/टिपरको आयात भएको भन्सार तथ्यांकले देखाएको छ । यी आयात भएका साधनको रिटेल कति भयो भन्ने एकिन जानकारी आइसकेको छैन ।
आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा खुम्चेको ट्रक/टिपरको बजार बिस्तारै चलायमान हुन लागेको देखिन्छ । कोभिड लगत्तैको वर्षभने ६ हजार यूनिट माथि ट्रक टिपर आयात भएका थिए ।
ब्यवसायीहरु सरकारले विकास खर्च गर्न नसक्नु, नयाँ निर्माणमा लगानी रोकिनु, खानीजन्य उद्योगहरु बन्द अवस्थामा पुग्नु र आयात निर्यात ब्यापार घट्नु जस्ता कारण ढुवानीमो प्रमुख साधनको आयात नै कमजोर बनेको हो ।
नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका उपाध्यक्ष तथा सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठका अनुसार निरन्तर ओरालो लागेको ट्रक टिपर ब्यापार चालु आवमा केही चलायमान हुनसक्ने बताउँछन् ।
एक वर्षमा १ हजार ६२६ युनिट मात्रै आयात
गत आर्थिक वर्षमा २०८०/८१ मा कुल १ हजार ६२६ युनिट ट्रक/टिपर आयात भएका छन् । यसरी भएको आयातमा पनि मुख्य तीन कम्पनीले सबैभन्दा धेरै आयात भएको देखिन्छ ।
ट्रक/टिपर सेग्मेन्टमा सबैभन्दा बलियो टाटा देखिएको छ । टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले एक वर्षमा कुल १ हजार १९३ युनिट आयात गरेको देखिन्छ । जुन कुल आयातको ७३.३७ प्रतिशत हो ।
त्यस्तै, अशोक लेल्यान्डले १५७ युनिट, आइचरले १५० युनिट र अन्य कम्पनीले १२६ युनिट ट्रक/ट्रिपर आयात गरेका छन् ।


