दुर्दशा भोगिरहेको एउटा इलेक्ट्रीक कार

काठमाडौं । बजारमा विद्युतीय कारको माग उच्च छ भन्दैमा सबै मोडलका कारले राम्रो व्यापार गर्न सक्छन् भन्ने हुँदैन । ग्राहकको रोजाइमा पर्न नसक्दा केही कारहरूले दुर्दशा समेत भोगिरहेका छन् ।

अहिले बजार नपाउँदा दुर्दशा भोग्ने मध्येको एउटा कार हो फियाट-५०० मिनी । स्टेलान्टिस समूहले उत्पादन गरेको फियाट–५०० इलेक्ट्रीक कार विशेषगरी अमेरिकी र युरोपियन बजारलाई ध्यानमा राखेर उत्पादन गरिएको मोडल हो । यसले अमेरिकी बजारमा राम्रो बिक्री पनि पाइरहेको थियो । तर, सन् २०२४ को आधासम्म कम्पनीले ४७० युनिट मात्रै बेच्न सकेको थियो ।

घट्दो बिक्रीलाई केही उठाउन सकिन्छ कि भनेर कम्पनीले डिस्काउन्ट अफर गरे पनि पछिल्लो तीन महिनामा २०४ युनिट मात्रै बिक्री भएको थियो । अमेरिकामा ३४ हजार डलर सुरूआती मूल्य रहेको फियाट-५०० निकै महँगो मोडल मानिन्छ । त्यसैले यसमा धेरैले ध्यान नै दिएका छैनन् ।

अमेरिकी बजारमा फियाट-५०० को बिक्रीमा आएको गिरावटसँगै कम्पनीले यसको उत्पादन नै रोकेको छ । अब नेभेम्बर १ तारिखसम्म अमेरिकामा फियाट-५०० को उत्पादन हुनेछैन ।

पछिल्ला दिनमा एकपछि अर्को उत्कृष्ट इलेक्ट्रीक मोडल बजारमा आउँदा पुरातन कार निर्मातालाई ईभीमा प्रतिस्पर्धा गर्न निकै कठिन हुँदै आएको छ ।


Back_to_top