फियाट भारत फर्कने चर्चा

काठमाडौं । फियाटले भारतमा पुनः उत्पादन सुरु गर्ने चर्चा चलिरहेको छ । नेपाली सडकमा गुडिरहेका इटालीयन ब्राण्ड फियाटका पून्टो, लिनिया र एभेन्चुरा जस्ता मोडल भारतमै उत्पादन भएर आएका थिए ।

नेपालमा अहिले फियाटको उत्पादन उपलब्ध नरहेपनि जीपको शोरुममा भने फियाटको लोगो देख्न पाइन्छ । जीपको स्वामित्व समेत फियाट ग्रुपसँगै रहेको कारण नेपालमा फियाटको लोगो जिवन्त रहेको हो ।

भारतमा सन् २०१९ मा फियाटले आफ्नो अपरेसन बन्द गरेको थियो । भारतमा उत्पादन बन्दसँगै फियाट ब्राण्डमा गाडीहरु नेपाल पनि आउन छाडेका हुन् । अहिले भारतमा फियाट, जीप र सिट्रोनको स्वामित्व स्टेलान्टीस ग्रुप अन्तर्गत छ । जहाँ उत्पादन भने जीप र सिट्रोनको मात्रै हुँदै आएको छ ।

स्टेलान्टीसले भारतीय बजारमा फियाटलाई पुनः लन्च गर्ने चर्चा सुरु भएको छ । ग्रुपले विकास गरेको ‘एसटीएलए मिडियम प्लेटफर्म’मा फियाट भारत फर्किने अनुमान सुरु भएको हो । ग्रुपले यहि प्लेटफर्ममा सन् २०२६ मा जीप कम्पास र सिट्रोनको नेक्स जेनेरेशन मोडलहरु लन्च गर्दैछ ।

ग्रुपले तयार गरेको प्लेटफर्मको पूर्ण उपयोग गर्न फियाट ब्राण्ड फेरी लन्च गर्ने अनुमान गरिएको हो । एउटै प्लेटफर्म भएकाले कम लगानीमा पनि नयाँ ब्राण्डको सुरुवात गर्न सकिने मिडिया रिपोर्टहरुले उल्लेख गरेका छन् ।

गत वर्षको अन्त्यतिर लन्च भएको स्टेलान्टीसको यो ‘फ्लेगजिवल एसटीएलए एम प्लेटफर्म’मा सेडान, क्रसओभर र एसयूभी जस्ता सबै किसिमका बडी डिजाइन तयार गर्न सकिन्छ । स्टाइलका गाडिहरु बन्न सक्छ । स्टेलान्टीस ग्रुपसँग भारतमा तीनवटा प्लान्ट संचालनमा छन् ।


Back_to_top