तीन दिनको झरीमा कति डुबे गाडी ? इन्स्योरेन्समा दावी बढ्दै

काठमाडौं । असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले करिब साढे २ हजार बढी सवारीमा क्षति पुगेको आँकलन गरिएको छ ।

बाढीपहिरोका कारण ठूलो संख्यामा कार, मोटरसाइकल, बस, ट्रक लगायत सवारी साधनमा क्षति पुगेको हो । अधिकांश सवारी साधनको पाजपूर्जामा क्षति पुगेको छ भने केही सवारी साधनै बगाएर हराएका छन् ।

एकीन तथ्यांक आइ नसके पनि निर्जीवन बीमा कम्पनीहरूले करिब साढे २ हजारको संख्यामा बीमा दाबी भुक्तानी माग हुने आँकलन गरेका हुन् ।

नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले करिब २ हजार ८०० सवारी साधनको बीमा दाबी माग हुने आँकलन गरिएको बताए । उनका अनुसार हालसम्म औसतमा एउटा बीमा कम्पनीमा १०० हाराहारीमा बीमा दाबी भुक्तानीका लागि आवेदन परेको छ । यस आधारमा हालसम्म करिब १४००/१५०० आवेदन परिसकेको छ भने थप आवेदन पर्ने क्रम जारी छ ।उनले सगरमाथा लुम्बिनी इन्स्योरेन्समा मात्रै हालसम्म ९० बढी दाबी परेको जानकारी दिए ।

‘बाढीपहिरोका कारण ठूलो संख्यामा सवारीसाधनमा क्षति पुगेको देखिएको छ,’ उनले भने, ‘आजसम्म औसतमा हरेक कम्पनीमा १०० हाराहारीमा बीमा दाबी परेको छ । दाबी भुक्तानीका लागि आवेदन आउने क्रम जारी छ । यसपटक करिब २८०० हाराहारीमा दाबी माग हुने हाम्रो आँकलन छ ।’

विगतको तुलनामा यस वर्ष धेरै संख्यामा गाडी डुबेकाले दाबी भुक्तानी पनि बढ्ने उनले बताए । ‘प्रायः हरेक वर्षयाममा सवारी साधनमा क्षति पुग्ने गरेको छ । यस वर्ष भने विगको तुलनामा कयौं गुणा दाबी भुक्तानी माग हुने देखिएको छ,’ उनले भने, ‘यसले सबै बीमा कम्पनीहरूलाई भार पर्ने देखिन्छ ।’

हालसम्म सबै सवारीधनीले बीमा दाबीका लागि आवेदन दिइनसकेकाले कति रकम बराबर भुक्तानी गर्नुपर्छ भन्ने एकीन भइनसकेको उनले बताए ।

बीमा कम्पनीहरूले बीमा सम्झौता अनुसार दाबी भुक्तानी प्रदान गर्छन् । पाटपूर्जा बिग्रिएकाको हकमा जुन भाग बिग्रएको हो त्यसको मात्रै दाबी भुक्तानी गर्नुपर्ने हुन्छ भने बगाएका,पहिरोले किचेर पूर्ण रुपमा क्षति भएका सवारीको हकमा पूरै बीमांक बराबर नै भुक्तनी गर्नुपर्ने हुन्छ ।

सवारीधनीले बीमा दाबीका लागि तोकिएका प्रक्रियाहरू पूरा गरी सम्बन्धित कम्पनीमा आवेदन दिनुपर्नेछ ।


Back_to_top