काठमाडौं । बुकिङ खुला गरेको ६० मिनेटमा नै १ लाख ७६ हजार २१८ यूनिट कार बुकिङ भएको छ । महिन्द्राले आज बिहान ११ बजे बुकिङ खुलाएको थार रक्स मोडलले मात्र ६० मिनेट उक्त संख्यामा बुकिङ पाएको हो ।
भारतीय कार इतिहासमा नै एकै दिन यति धेरै बुकिङ भएको घटनालाई विश्वमै नयाँ रेकर्ड भनेर मिडियाले उल्लेख गरेका छन् । महिन्द्राले नयाँ एसयूभीको लागि आज १ घन्टा बुकिङ खुला हुने यसअघि नै जानकारी दिएको थियो ।
आगामी अक्टुबर १२ तारिकबाट डेलिभरी सुरु हुने थार रक्स अहिलेसम्म कति उत्पादन भएको छ भन्ने विषयमा महिन्द्राले कुनै जानकारी दिएको छैन । तर, मासिक ६ हजार ५०० यूनिट उत्पादन हुने जानकारी दिएको छ ।
महिन्द्राले ५ ढोका दिएर उत्पादन गरेको ‘थार रक्स’ टु ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ दुबै अप्सनमा आउने छ । थार रक्समा २.० लिटरको टर्बो पेट्रोल, २.२ लिटरको डिजेल इन्जिन अप्सन पाउन सकिन्छ । कम्पनीले निकट भविष्यमै १.५ लिटरको डिजेल इन्जिनमा थारसमेत ल्याउने योजना सार्वजनिक गरेको छ । थार रक्समा म्यानुअल र अटोमेटिक गियरबक्स रहेको छ ।