काठमाडौं । यही भदौ ३ गतेदेखि आयोजना हुने ‘नाडा अटो शो २०२५’मा प्रदर्शन गरिने उड्ने (फ्लाइङ) कार काठमाडौं आइपुगेको छ ।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले दिएको जानकारी अनुसार दीपालको ‘ई-भोल्ट’ कार शनिबार बेलुका काठमाडौं ल्याइपुर्याइएको हो ।
साथै, अत्याधुनिक युनिट्री रोबोट पनि सुरक्षित रूपमा काठमाडौं ल्याइएको नाडाले जनाएको छ ।
उक्त कार चीनबाट गाडीमा ल्याइएको थियो । कोदारी राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको इकुमा पहिरोले सडक अवरुद्ध भएपछि करिब १५० मिटर भरिया लगाएर बोकाइएको थियो भने तातोपानी भन्सारबाट फेरि गाडीमै काठमाडौं ल्याइएको हो । 
प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै नेपालमा पहिलो पटक उड्ने कार ल्याइएको नाडाले जनाएको छ । यो कार अटो शोमा मुख्य आकर्षण हुनेछ ।
दीपल ब्राण्डले नेपालमा पहिलो पटक उड्ने कार ल्याएर इतिहास बनाएको छ । चांगानले विकास गरेको इलेक्ट्रीक ‘भर्टिकल टेकअफ एण्ड ल्याण्डिङ’ फिचर रहेको ई-भोल्ट फ्लाइङ कार ’लो अल्टिच्युड फ्लाइट म्यानेजमेन्ट टेक्नलोजी’ प्रयोग भएको कार हो । साथै, कारमा दीपलले प्रयोग गर्दै आएको फिचरहरू पनि यसमा छन् ।
नाडा अटो शो भदौ ३ देखि ८ गतेसम्म संचालन हुनेछ ।

