काठमाडौं । मेची राजमार्ग अन्तर्गत फिदिम-ताप्लेजुङ सडक खण्डको हेवा खोलामा ७० मिटर लामो मोड्युलर बेलिब्रिज जडान गरिएको छ।
२०८० असार २ गते आएको बाढीले पक्की पुल बगाएपछि फिदिम-४ र हिलिहाङ-७ जोड्न हेवा खोला माथि मोडुलर ब्रिज जडान गरिएको हो ।
सडक डिभिजन इलामका अनुसार उक्त पुल हालसम्म नेपालमा जडान भएका मोडुलर प्रविधिमध्ये सबैभन्दा लामो पुल हो ।
यो मोडुलर ब्रिज भारत सरकारले उपलब्ध गराएको हो । भारतबाटै आएका २१ जना प्राविधिकले ११ दिन लगाएर उक्त पुल जडान गरेका हुन् ।
सडक डिभिजन इलामका अनुसार उक्त पुलमा २५ टनभन्दा बढी लोड भएका सवारी साधन संचालन गर्न दिनइे छैन । यद्यपि, पुलको भार क्षमता परीक्षण गर्दा ३६ टन लोड धानेको थियो । उक्त पुल भदौ ४ गतेदेखि संचालनमा ल्याइने डिभिजन कार्यालयले जनाएको छ ।
उक्त पुलका लागि आवश्यक संरचना निर्माण र जडान गर्न दोभान सुपर सौगात लाइट बिल्डर्सले ३ करोड ५० लाख रुपैयाँमा ठेक्का पाएको थियो ।
यसअघि गत जेठ ३१ गते निर्माणकै क्रममा मोडुलर ब्रिज भाँचिँदा ३ जना श्रमिकको मृत्यु भएको थियो भने अरु ३ जना घाइते भएका थिए ।
सिंगो ताप्लेजुङलाई सडक सञ्जालसँग जोड्ने हेवा खोलाको पक्की पुल २०८० असार २ गते बाढीले बगाएको थियो । त्यसपछि संघीय सरकारले बेलिब्रिज बनाएको थियो । तर, उक्त पुल पनि २०८१ असोज १२ गते बाढीले बगाएको थियो ।
पुल निर्माण भएसँग ताप्लेजुङवासीले अब सहजै यात्रा गर्न पाउने छन् ।

