नयाँ फोर्ड एस्पायरको बुकिङ्ग खुल्ला, मूल्य २५ लाख ५० हजारबाट सुरु

काठमाडौं । भारतीय बजारमा सार्वजनिक भएको एक हप्तापछि नै नेपाली बजारमा फोर्ड एस्पायर फेसलिफ्टको बुकिङ्ग खुल्ला गरिएको छ । नेपालका लागि फोर्डको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले २५ लाख ५० हजार सुरुवाति मूल्य तोकेर बुकिङ्ग खुल्ला गरेको छ । 

भारतीय बजारमा पेट्रोल र डिजेल दुवै इन्जिनमा उपलब्ध एस्पायर नेपाली बजारमा पेट्रोलमा ७ भेरिएन्ट र डिजेलमा ५ भेरिएन्टमा उपलब्ध रहने कम्पनीका प्रबन्ध निर्देशक आकाश गोल्छाले जानकारी दिए । 

पेट्रोल भेरिएन्टको मूल्य २५ लाख ५० हजार देखि ३३ लाख ५० हजार रुपैयाँ तोकिएको छ भने, एउटा मात्र भेरिएन्टमा उपलब्ध अटोमेटिकको मूल्य ३४ लाख ५० हजार रुपैयाँ रहेको छ । डिजेल भेरिएन्टको मूल्य भने २८ लाख ५० हजारबाट सुरुभई ३६ लाख ५० हजार रुपैयाँसम्म रहेको छ ।

कम्पनी स्रोतका अनुसार एस्पायरको यो सुरुवाति मूल्य हो, जसमा गाडी सार्वजनिक हुनुअघिका उपभोक्ताले फाईदा लिन पाउने छन् ।

कम्पनीले पेट्रोल इन्जिनमा नयाँ ड्रागन सिरिजको १.२ लिटर, थ्री सिलिन्डर र १.५ लिटर, थ्री सिलिन्डरयुक्त इन्जिनको प्रयोग गरेको छ । डिजेल भेरिएन्टमा भने १.५ लिटर टीडीसीआई इन्जिन दिएको छ ।

मल्टी स्पोक एलोई ह्विल र अपडेटेड ओआरभीएम छ । यसको क्याबिनमा ड्युअल टोन दिइएको छ भने ७ इन्च टचस्क्रिन डिस्प्ले सहितको इन्फोटेनमेन्ट सिष्टम छ, जसले फोर्डको इन कार कनेक्टिभिटीलाई सपोर्ट गर्छ । कारमा अटो क्लाइमेट कन्ट्रोल र स्टार्ट अप बटनलगायतका फिचरले आर्कषण थपेको छ । 


Back_to_top