काठमाडौं । अघिल्लो महिनादेखि रोकिएको दुई पाङ्ग्रे सवारीसाधन दर्ता खुल्ने भएको छ । मन्त्रीपरिषदले नयाँ मोटरसाइकल तथा स्कुटरको दर्ता बागमती अञ्चलको नामबाट नभई प्रदेश नम्बर ३ को नामबाट दर्ता गर्ने नयाँ बाटो खुल्ला गरिदिएको हो ।
अब मोटरसाइकल दर्ता प्रदेश सरकार मातहतमा हुनेछ । यसअघि साविक अञ्चल संरचनामै मोटरसाइकल दर्ता गर्ने व्यवस्थासहितको यातायात व्यवस्था नियमावली संशोधन हुन सकेको थिएन । उक्त संशोधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ती जनाएपछि संशोधन रोकिएको थियो ।
प्रधानमन्त्रीले अञ्चल संरचनालाई संबिधानले नचिन्ने भन्दै उक्त नियमावली संसोधन गर्न अस्विकार गरेका थिए । अब भने नयाँ संरचना अनुसार दुई पाङ्ग्रे सवारीसाधन दर्ता हुने छन् ।
‘मन्त्रीपरिषदले नयाँ नियमवली बनाएको छ, आज राजपत्रमा उक्त नियमावली प्रकाशन भएसँगै प्रदेश ३मा दुईपाङ्ग्रे सवारीसाधन दर्ता गर्ने बाटो खुल्ला भएको छ । संभवत आइतबारबाट प्रदेश अन्तर्गत दर्ता खुल्ला हुने छ’ सतुंगलस्थित मोटरसाइकल कार्यालयका प्रमुख गणेश अर्यालले मेरोअटोसँग भने ।
‘पुरानो अञ्चल संरचनामा भएको सवारीदर्ता सिस्टमलाई नयाँ संरचनामा अपग्रेड गर्नुपर्ने भएकाले केही दिन त्यसमा लाग्ने छ, हामीले यातायात ब्यवस्था विभागलाई त्यसको काम चाँडो सक्न आग्रह गरेका छौ, सायद आईतबारबाट पूर्णरुपमा दर्ता गर्न सकिने छ’ अर्यालले भने ।
यस्तो हुने छ नयाँ नम्बर प्लेट
अब मोटरसाईकल तथा स्कुटरको नम्बर प्लेटको सबैभन्दा माथि प्रदेश नम्बर ३ को प्र–३–०१ हुनेछ, पछाडिकाे ०१ भने कार्यालय काेड हाे । त्यसको ठिक तल ००१–प–१ नम्बरबाट सुरु हुनेछ ।
९ हजार ९९९ वटा सवारीसाधन दर्तापछि पुन ००२–प–१बाट सुरु हुने नयाँ व्यवस्था गरिएको अर्यालले जानकारी दिए ।
पुनःपछि झन्झट
प्रदेश सरकारले आफ्नो प्रदेशको नामाकरण नगरेकाले पुनः प्रदेश सरकारको नामाकरणपछि नम्बर प्लेट परिर्वतन गर्नु पर्नेछ । अहिले ब्यवस्था अनुसार माथी लेखिने प्रदेश ३को ठाँउमा प्रदेशको नामाकरणपछि सोही नाम लेख्नु पर्ने भएकाले नम्बर प्लेट परिर्वतन गर्ने झन्झट भने रहिनै रहने छ ।

