काठमाडौं । अमेरिकी अटोमोवाइल जाइन्ट फोर्डले साना र कम मूल्यका ईभी उत्पादन थाल्ने योजना अगाडि सारेको छ । कम्पनीले अन्तर्राष्ट्रिय बजारमा २५ हजार अमेरिकी डलरमा बिक्री गर्न मिल्ने कम्प्याक्ट एसयूभी मोडल उत्पादन गर्ने योजना बनाएको हो ।
विश्वभर ईभीको बिक्री र चर्चा बढ्दै जाँदा फोर्डले अमेरिकी इलेक्ट्रीक कार उत्पादनमा आफुलाई अब्बल सावित गरिसकेको टेस्लाले ल्याउन लागेको नयाँ मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेगरी क्रसओभर मोडल ल्याउन लागेको हो । टेस्लाले २५ हजार डलर मूल्यमा आउने गरी नयाँ मोडलको काम गरिरहेको छ । सन् २०२५ मा बजारमा आउने टेस्लाको बजेट कारलाई टक्कर दिन फोर्डले तयारी थालेको बताइन्छ ।
फोर्डले ब्याट्री उत्पादनको लागि विश्वकै ठूलो निर्माता सीएटीएलसँग संयुक्त लगानीमा नयाँ कम्पनी घोषणा गरिसकेको छ । सीएटीएल चिनियाँ ब्याट्री निर्माता कम्पनी हो । यसको बजार हिस्सा झण्डै ४० प्रतिशत हाराहारी छ ।
आफ्नै संयुक्त लगानीमा ब्याट्री उत्पादन हुने भएसँगै फोर्डले तीन नयाँ मोडलको तयारी थालेको हो । जसमा कम्प्याक्ट एसयूभी, पीकअप र राइड-हेल सर्भिसको लागि सेडान कार रहने छ । यी तीन वटै मोडलको लागि फोर्डले नयाँ प्लेटफर्म बनाउन लागेको हो ।
फोर्डले आफ्ना नयाँ ईभीमा लिथियम आइरन फस्फेट ब्याट्री दिनेछ । साथै, भविष्यमा थप नयाँ टेक्नोलोजीको ब्याट्री उत्पादन र प्रयोगलाई बढवा दिन कम्पनीले थप लगानी गर्ने फोर्डका सीईओ जेम फार्लेले जनाएका छन् ।

