फोर्डले आज सार्वजनिक गर्दै सबैभन्दा कम मूल्यको अटोमेटीक कार

काठमाडौं । अमेरिकी कार निर्माता कम्पनी फोर्डले भारतमा आज सबैभन्दा कम मूल्यको अटोमेटिक कार बजारमा ल्याउने भएको छ । फोर्डले आफ्नो चर्चित ह्याचव्याक कार फिगोलाई अटोमेटीक गियरबक्सको साथ बजारमा उतार्न लागेको हो ।

फोर्ड फिगो नेपालमा पनि विक्री वितरण हुँदै आएको ह्याचव्याक कार हो । अटोमेटीक गियरबक्समा आएसँगै फिगो फोर्डको सबैभन्दा कम मूल्यको अटोमेटीक कार बनेको छ । कम्पनीले यसमा ६ स्पीड टर्क कन्र्भटर गियरबक्स दिएको छ ।

मिडिया रिपोर्टलाई आधार मान्ने हो भने कम्पनीले फिगोको एक्सटेरियर र इन्टेरियरमा पनि परिमार्जन गर्ने उल्लेख गरेका छन् । तर, कम्पनीले भने यसको विषयमा कुनै आधिकारीक जानकारी दिएका छैनन् ।

कम मूल्यमा अटोमेटीक कार खोज्ने ग्राहकलाई लक्षित गर्दै बजारमा आउन लागेको फिगोले कस्तो व्यापार गर्न त्यो भने हेर्न बाँकी नै रहेको छ ।

अहिले बजारमा विक्री हुँदै आएको फिगोमा १.२ लिटर पेट्रोल इन्जिन दिइएको छ । संभवत अटोमेटीक फिगोमा पनि त्यही इन्जिन रहने छ । उक्त इन्जिनले ९६ पीएस पावर र ११९ एनएम टर्क प्रदान गर्छ ।

नेपालमा फोर्डको आधिकारीक विक्रेता जिओ फोर्डले फिगोको एउटा मात्रै भेरियन्ट विक्री गर्दै आएको छ । टप भेरियन्ट टाइटानियमको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।


Back_to_top