पछिल्लो १० वर्षमा सर्वाधिक सफल ५ मोटरसाइकल

काठमाडौं । नेपालमा मोटरसाइकलको विक्री सुरु भएको ५० वर्ष पुरा भइसकेको छ । तर, पछिल्लो दशकमा मोटरसाइकलमा व्यापकञ परिवर्तन भएको छ ।

पछिल्लो दशकमा नेपाली बजारमा थुप्रै नयाँ ब्राण्ड प्रवेश गरेका छन् भने पुराना ब्राण्डले आफ्नो सेवालाई थप परिस्कृत गर्दै लगेका छन् ।

विशेषत पछिल्लो एक दशकमा मोटरसाइकल सेग्मेन्टमा बजाजको दबदबा रह्यो । बजाज पल्सर १५०, पल्सर २२० एफ, होन्डा साइन, टीभीएस अपाचे आरटीआर र यामाहा एफजेडएस मोडल सर्वाधिक सफल रहे ।

नेपाल आएदेखि नै चर्चामा रहेको पल्सर १५० र पल्सर २२० एफ निकै चर्चित र सफल मोडल हुन् । यी दुबै मोटरसाइकल आफ्नो सेग्मेन्टमा सर्वाधिक विक्री हुने मोटरसाइकल हुन् । विशेषत पावर र डिजाइनको कारण बजाजका मोटरसाइकल नेपालमा सफल हुँदै आएका छन् ।

नेपालमा वार्षिक २५ देखि ३५ हजार यूनिट पल्सर १५० विक्री हुने गरेको तथ्यांक पाउन सकिन्छ भने पल्सर २२० एफ १२ हजार यूनिट हाराहारीमा विक्री हुने गरेको छ ।

अर्को सर्वाधिक सफल मोटरसाइकल होन्डा सिबी साइन हो । १२५ सीसी सेग्मेन्टमा आउने साइन नेपाल आएदेखि नै निरन्तर उच्च माग हुँदै आएको मोटरसाइकल हो । यो मोटरसाइकल औषतमा वार्षिक २० हजार यूनिट विक्री हुँदै आएको तथ्यांकले देखाएको छ ।

यामाहाको सफल सिरिज एफजेडएस पनि नेपालमा धेरै रुचाइएको मोटरसाइकल हो । यसको भि टु र भि थ्री मोडल अहिले बजारमा किन्न पाइन्छ । विशेषत युवापुस्तालाई आकर्षण गर्न सफल एफजेडएस मोडल वार्षिक औषत १५ हजार यूनिट विक्री हुँदै आएको छ ।

सन् २०१५ मा आधिकारीक वितरक परिवर्तनसँगै टीभीएस आरटीआर सिरिजको विक्री निकै बढेको छ । कम्पनीले आरटीआर १६० नै वार्षिक १२ हजार यूनिट हारहारीमा विक्री गर्न थालेको छ ।

यी सबै नेपाली सडकमा बाक्लो उपस्थिति रहेका मोडल हुन् । यसका अलावा हिरो स्प्लेन्डर, होन्डा यूनिर्कन, पल्सर एनएस २०० जस्ता मोडलपनि निरन्तर ग्राहकको छनोटमा पर्दै आएका मोटरसाइकल हुन् ।

यी मोटरसाइकल विगत १० वर्षदेखी निरन्तर विक्री भइरहेको छ । यी मोटरसाइकलको मूल्य धेरै पटक परिर्वतन भइरहेको छ । पछिल्लो समय बजाज १५० को सिंगल डिस्क भर्सनको मूल्य २ लाख ६८ हजार ९०० रुपैयाँ र डबल डिस्क भर्सनको मूल्य २ लाख ८३ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै बजाज पल्सर २२० एफको मूल्य ३ लाख ५२ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यसैगरि होन्डा साइनको मूल्य २ लाख २९ हजार ९०० रुपैयाँ सुरुवाति मूल्य रहेको छ । त्यस्तै यामाहाको चर्चित सिरिज एफजेडको सुरुवाति मूल्य २ लाख ८४ हजार ९०० रुपैयाँ रहेको छ । त्यसैगरि टीभीएस अपाचे आरटीआर १६० फोर भी को सुरुवाति मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top