फोटोन ‘टीएम-१’ इलेक्ट्रीक ट्रक नेपालमा, कति पर्ला मूल्य ?

काठमाडौं । नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले लाइट कमर्शियल भेहिकल सेग्मेन्टमा इलेक्ट्रीक ट्रक नेपाल ल्याएको छ । कम्पनीले ल्याएको सानो ट्रक काठमाडौं आएपनि यसको आधिकारीक लन्चिङ भने नाडा अटो शो २०२३ मा हुने भएको हो ।

फोटोन ‘टीएम-१’मा एलएफपी ब्याट्री दिइएको छ । कम्पनीले यसमा ३८.६४ किलोवाट आवर क्षमताको ब्याट्री दिएको छ । यसलाई सिंगल चार्जमा २८० किलोमिटर गुडाउन सकिने कम्पनी स्रोतले जानकारी दिएको छ ।

नेपालमा उपलब्ध हुने उक्त इलेक्ट्रिक पीकअप ट्रक पूर्ण रुपमा नेपाली भूगोल सुहाउदो रहेको कम्पनीको दावी छ । एमएडब्लू वृद्धिले नेपालको विभिन्न किसिमका सडकमा यसको २/३ महिनादेखि परीक्षण गरिरहेको थियो ।

आगामी भदौ २६ गतेबाट आयोजना हुने नाडा अटो शो २०२३ मा यसलाई विशेष प्रदर्शनी गर्ने तयारी भइरहेको कम्पनी स्रोतले बतायो । कम्पनीले अटो शोमा यो इलेक्ट्रीक ट्रक किन्ने ग्राहकलाई विशेष छुटको ब्यवस्था गर्ने जनाएको छ ।

अहिले नै यसको पावर र मूल्यको विषयमा कम्पनीले आधिकारीक जानकारी नदिएपनि यसमा पीक पावर ५५ किलोवाटको मोटर र ३० लाख हाराहारी मूल्य रहने अनुमान गर्न सकिन्छ ।

यो इलेक्ट्रीक ट्रकले एक पटकमा १ हजार ४०० किलोग्राम तौल बोक्न सक्छ । थोरै मालसामान ढुवानी गर्नेको लागि यो ट्रक निकै किफायती हुने अनुमान गर्न सकिन्छ ।

फोटोनले नाडा अटो शो २०२३ मा आफ्नो पहिलो ईभी ट्रकसँगै १४ र १५ सिटे इलेक्ट्रीक भ्यानहरु प्रदर्शनी गर्ने जनाएको छ ।


Back_to_top