काठमाडौं । नाडा अटो शो २०१८ आजबाट सुरु हुँदैछ । काठमाडौंको भृकुटी मण्डपमा आयोजना हुँदै गरेको यस मेलामा यसपटक ४ ब्रान्डले नयाँ इलेक्ट्रीक कार प्रर्दशनीमा राखेका छन् ।
हुन्डाई, रेनो, टाटा र महिन्द्राले आफ्ना पछिल्ला इलेक्ट्रीक उत्पादनलाई अटो शोमा शोकेस गर्न लागेका हुन् । अटो शोमा गएर गाडी हेर्नुपूर्व तपाईलाई हामी यी कम्पनीले ल्याएका कारको विशेष फिचरको बारेमा जानकारी दिने उद्देश्यले यो रिर्पोट तयार पारेका हौं ।
मेलामा हुन्डाईले आयोनिकलाई उतारेको छ भने, रेनोले जोईलाई शोकेस गरेको छ । टाटाले टिगोर इभी ल्याउँदा महिन्द्राले इभेरिटो ल्याएको छ । यी मध्ये रेनोको जाई ह्याचब्याक कार हो भने अन्य तीनवटै कार सेडन हुन् ।
हुन्डाई आयोनिक
हुन्डाई मोटर कम्पनीले नाडा अटो शोमा आफ्नो बहुप्रतिक्षित हुन्डाई आयोनिक शोकेस गरेको छ । शोकेस भएको आयोनिक पूmलअप्सन कार हो । हुन्डाईको आयोनिकले एशियन एनक्याप क्र्यास टेष्टमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको कार हो । जसले सेफ्टी टेष्टको कुल १०० अंकमा ९१ दशमलव ९८ स्कोर पाएको थियो । एडल्ट अकुपेन्सी, चाइल्ड अकुपेन्सी र सेफ्टी असिष्ट टेक्नोलोजीजस्ता फिचरमा कारले उत्कृष्ट अंक पाएको छ ।

दक्षिण कोरियामा निर्मित आयोनिक सेडानमा सात एयरब्याग, एबीएस, स्ट्याबिलिटी कन्ट्रोल, लेन डिपार्चर र फरवार्ड कोलिजन वार्निङ, लेन किप असिष्ट तथा ब्लाइन्ड स्पट डिटेक्सन सिष्टमजस्ता सेफ्टी फिचर छन् ।
यसमा रहेको अन्य फिचरहरूमा एन्ड्रोइड अटो, एप्पल कार प्ले, वायरलेस चार्जर, सात इञ्च टीएफटी इन्स्टुमेन्टल क्लस्टर, पूर्ण लेदर सिट आदि रहेका छन् । नेपाली बजारमा दुई हप्तादेखि टेष्टीङ चलिरहेको यो कारले एकपटकको पूmल चार्जमा २२० देखि २५० किलोमिटर माइलेज दिनेछ । यो कारको अर्को विशेषता भनेको करिब १० प्रतिशत चार्ज कार गुडिरहेको बेलामा जेनेरेट गर्ने छ । कारको टेष्टीङका लागि धुलिखेल हुँदै दोलालघाट, सीतापाईलाको ह्वाइट गुम्बालगायतका स्थानमा लगिएको कम्पनीले जनाएको छ ।
यसमा दिइएको ८८ किलोवाटको इलेक्ट्रीक मोटरले ११९.७ एचपी पावर र २९५ एनएम टर्क उत्पादन गर्छ । यसले ० देखि १०० किलोमिटरको रफ्तार भेट्टाउन ९.९ सेकेन्डमात्र लगाउँछ । कम्पनीले कारको टप स्पीड १६५ किलोमिटर प्रतिघन्टा भएको जनाएको छ ।
यसमा दिइएको लिथिएम आयन पोलिमोर ब्याट्रीलाई फास्ट चार्जरबाट चार्जिङ गर्दा ३० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिनेछ । यो अहिलेसम्मकै छिटो चार्ज हुने प्रविधि भएको कम्पनीले दाबी गरेको छ ।
यो सेडान कारको लम्बाई ४४७० एमएम रहेको छ भने १८२० एमएम चौडाई रहेको छ । उचाई भने १४५० एमएम रहेको छ । यसको ह्वीलवेस २७०० एमएम रहेको छ । कारको कुल तौल १४३० केजी रहेको छ । नेपाली बजारमा यसको मूल्य ५२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
रेनो जोई
फ्रान्सेली अटो निर्माता कम्पनी रेनोले सहरी क्षेत्रलाई ध्यानमा राखेर निर्माण गरेको इलेक्ट्रीक कार नेपाली बजारमा आएको छ । रेनोको लागि नेपालको आधिकारीक बिक्रेता एड्भान्स अटोमोबाइल कम्पनीले नाडा अटो शोमा उक्त इलेक्ट्रीक कार जोइलाई शोकेस गर्न लागेको हो । यो कार कम्बस्चन इञ्जिनयुक्त कारजस्तै निकै आकर्षक, आरामदायी तर कम्बस्चन इञ्जिनको तुलनामा धेरै किफायति रहेको छ ।

रेनो जोई युरोपियन बजारमा सर्वाधिक बिक्री हुने कारमा पर्छ । यसले युरोपियन बजारमा निशान लिफसँग प्रतिस्पर्धा गरिरहेको छ । सन् २०१२ को जेनेभा मोटर शोमा पहिलोपटक शोकेस गरिएको यो कार २०१३ देखि नै कम्पनीले उत्पादन गर्दैआएको छ ।
रेनोले जोईलाई दुई फरक ब्याट्री पावर अप्सनकासाथ बजारमा ल्याएको छ । पहिलो कमरेन्जमा २२ किलोवाट क्षमताको ब्याट्री प्रयोग गरिएको छ । जसले एकपटकको फुलचार्जमा १०० माइल अर्थात् १६० किलोमिटर माइलेज दिनेछ भने ४१ किलोवाटको ब्याट्री प्याकले १८० माइल अर्थात् २८८ किलोमिटर माइलेज दिनेछ ।
यस कारमा कम्पनीले तीन चार्जर अप्सन दिएको छ । जसमा क्यू ९०, आर ९० र फास्टर क्यू ९० थ्रिपिन चार्जर दिइएको छ । यसमा दिइएको फास्ट चार्जरबाट चार्ज गर्दा ६५ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।
यसमा रहेका फिचरमा कि कार्ड इन्ट्री, पुस स्टाट बटम, सात इञ्च टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, टीएफटी ड्यास बोर्ड, त्रूmजकन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रीक फ्रन्ट विन्डोजजस्ता फिचर रहेका छन् । यो कार यात्राको लागि निकै आरामदायी रहेको छ । कारमा सेन्सरयुक्त क्लाइमेट कन्ट्रोल, एयर कन्डिसन, एन्टी लक ब्रेकिङ सिस्टम, एमरजेन्सी ब्रेक एसिस्ट, एयरब्यागलगायतका सुरक्षा मापदण्ड अपनाइएको छ ।
१६ इञ्च अलोय ह्वील, क्रोम फ्रन्ट ग्रिल सराउन्ड, लेदर स्टेरिङ ह्वील, अटोमेटीक लाइट, रेन सेन्सिङ वाइपर, इलेक्ट्रीक रियर विन्डोज, अपग्रेडेड साउन्ड सिस्टम, रियर पार्किङ सेन्सरजस्ता फिचर दिइएको छ ।
नेपाली बजारमा अटो शोमार्फत् सार्वजनिक हुन लागेको कारको मूल्य भने सार्वजनिक गरिएको छैन । यो कार बेलायती बजारमा १४ हजार पाउन्डदेखि २० हजार पाउन्डसम्ममा बिक्री/वितरण भइरहेको छ ।
इलेक्ट्रीक सेग्मेन्टमा यसलाई स्टाइलिस कार मानिएको छ । यसले नेपाली बजारमा विशेष बजार बनाउने कम्पनीले विश्वास लिएको जनाएको छ । तर, यसले कस्तो बजार बनाउनेछ त्यो भने अटो शोमा मानिसको चासो र आकर्षणले नै बताउनेछ ।
टाटा टिगोर ईभी
टाटा मोटर्सको नेपालको लागि आधिकारीक वितरक सिप्रदी ट्रेडिङले टिगोर ईभीलाई नाडा अटो शोमा शोकेस गरेको छ । पछिल्लो समय इलेक्ट्रीक कारहरू आउनेक्रम निकै बढी रहेको समयमा कम्पनीले टिगोर ईभीलाई शोकेस गर्न लागेको हो ।

‘नाडा अटो शोमा ग्राहकको प्रतिक्रिया जान्न र नयाँ प्रडक्टको विषयमा प्रतिक्रिया लिन सजिलो हुने भएकाले हामीले टिगोर इलेक्ट्रीक कार ल्याउन लागेका हौँ’ सिप्रदी ट्रेडिङका प्यासेन्जर युनिटका जनरल म्यानेजर प्रबिन खतिवडाले मेरोअटोसँग भने ।
टाटा मोटर्सले भारतको आन्ध्र प्रदेशमा इलेक्ट्रीक भेइकल उत्पादन केन्द्र निर्माण गरेर कार उत्पादन गर्दैआइरहेको छ । यस कारमा ३० किलावाटको इलेक्ट्रीक मोटर लगाइएको छ भने, सिङ्गल स्पीड अटोमेटिक ट्रान्समिसन दिइएको छ । यो कार ७२ भोल्टको ब्याट्रीद्वारा सञ्चालित हुनेछ । फास्ट चार्जरमार्फत् डेढ घन्टामा ८० प्रतिशत चार्ज हुने यसको ब्याट्री नर्मल चार्जरबाट चार्जगर्दा ६ देखि ८ घन्टामा फुल चार्ज हुनेछ । कारको टप स्पीड क्षमता १३० किलोमिटर प्रतिघन्टा रहेको छ ।
टाटा टिगोरको लम्बाई ३,९९२ एमएम रहेको छ भने १,६७७ एमएम फराकिलो र १,५३७ एमएम अग्लो रहेको छ । ग्राउन्ड क्लियरेन्स १७० एमएम रहेको यो कारको ह्वीलवेस २,४५० एमएम रहेको छ ।
यसको रुफमा कालो कलर लगाइएको छ भने ब्लू–कलरको हाइलाइट गरिएको छ । कम्पनीकाअनुसार टिगोरको एक्सटेरियर तथा इन्टेरियर अत्यन्त आकर्षक रहेको कम्पनीले जनाएको छ ।
भारतीय बजारमा ११ लाख भारतीय रुपैयाँ मूल्य रहेको यो कार नेपाली बजारमा २५ लाखभन्दा कम मूल्यमा खरिद गर्न सकिने अनुमन गरिएको छ ।
महिन्द्रा ई–भेरिटो
भारतीय अटो निर्माता कम्पनी महिन्द्राले उत्पादन गरेको इलेक्ट्रीक कार ‘ई–भेरिटो’ नाडा अटो शोमा प्रर्दशनी गरेको छ । यसअघि महिन्द्राको ई–टुव प्लस बिक्री÷वितरण गर्दैआएको नेपालका लागि आधिकारी बिक्रेता अग्नी इन्–कर्पोरेटले नेपाली बजारमा पुनः अर्को इलेक्ट्रीक कार ल्याएको हो ।

सानो स्मार्ट इलेक्ट्रीक कार उत्पादन गर्दैआएको महिन्द्राको ई–भेरिटो सेडान कार हो । यसलाई महिन्द्राले २०१६ मा नै भारतीय बजारमा सार्वजनिक गरेको थियो । कम्पनीले भारतीय बजारमा दिल्लीबाट बिक्री÷वितरण सुरु गरेको उक्त कार ब्यावसायिक उत्पादनभन्दा पनी सरकारी ट्रेन्डका लागि उत्पादन हुँदैआएको थियो ।
ई–भेरिटोमा ७२ भोल्टको मोटर लगाइएको यस कारले ४० बीएचपी पावरकासाथै ९१ एनएम टर्क उत्पादन गर्छ । कारको टप स्पीड क्षमता ८६ किलोमिटर प्रतिघन्टा रहेको छ । एकपटकको फुल चार्जमा कारलाई एक सय १० किलोमिटरसम्म गुडाउन सकिन्छ ।
महिन्द्राले यस कारमा जडान गरेको रि–जेनेटिभ ब्रेकिङ प्रणालीले पावर तथा ब्याट्रीलाई चार्ज गर्ने गर्छ । यसको अलवा महिन्द्राले ई–भेरिटोमा फास्ट चार्जिङ सिस्टम लगाएको छ । यसको सहयोगमार्फत् एक घन्टा ४५ मिनेटमा ८० प्रतिशत चार्ज हुनेछ । यसलाई चार्ज गर्न १५ एम्पीयरको पावर आवश्यकता पर्छ ।
यसलाई कम्पनीले नाडा अटो शोबाट नै आधिकारीकरुपमा नै बिक्री/वितरण सुरु गर्ने भएको छ । कम्पनीले अहिल्यै यसको मूल्य तोकिनसकेको भएपनि करिब २६ लाखदेखि २९ लाख रुपैयाँको भित्रमा मूल्य निर्धारण हुने अनुमान लगाउन सकिन्छ ।

