यस्तो छ नाडा अटो शोको इतिहास, कुन वर्ष कति कम्पनी सहभागि

काठमाडौं । नेपालको इतिहासलाई नियाल्दा हिटलरको उपहार स्वरुप राजा त्रिभुवनको लागि पहिलो सवारीसाधन नेपाल भित्रीएको थियो । खासै लामो इतिहास नभए पनि नेपालमा पछिल्ला दिनमा सवारीसाधनको बजार विस्तारले निकै रफ्तार समातेको छ । 

हाल, अन्तर्राष्ट्रियस्तरमा नाम कमाएका अटो उत्पादक कम्पनीले उत्पादन गरेका सवारिसाधन आधिकारीक वितरकले मार्फत नेपाली बजारमा प्रबेश गरिरहेका छन् । त्यसैले पछिल्लो समय अटोबजारसमेत प्रतिस्पर्धी बन्दै गएको छ ।

सवारीसाधन आयातकर्ताको हक र हितमा कामगर्न २०३२ सालमा छाता संगठनको रुपमा अटोमोबाइल एशोसिएस अफ नेपालको स्थापना भयो । भने २०६१/६२ मा आइपुग्दा यो संस्थाको नाम नेपाल अटोमोबाइल डिलर एशोसिएसन (नाडा) भयो ।

२०७२ मा उक्त संस्थाले आफ्नो नाम पुनः परिवर्तन  गरी नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल बनायो । 

यही संस्थाले सवारीसाधनको बिक्री–वितरणलाई सहज बनाउने उद्देश्यअनुरुप १९९८ बाट नाडा अटो शो आयोजना गर्ने निर्णय गर्यो । सुरुवाति दिन हरेक २ वर्षमा आयोजना हुने अटो शो पछि आएर हरेक वर्ष हुने गरेको छ । १३ औं संस्करण सम्मको यस्तो छ, अटो शोको इतिहास ।

पहिलो अटो शो : एशोसिएनले सन् १९९८ मा सम्पन्न गरेको पहिलो अटो शोमा २६ प्रदर्शक सहभागी भएका थिए । भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजित सो अटो शो, नेपाल अटोमाबाइल डिलर्स एशोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेसले संयुक्तरुपमा आयोजना गरेका थिए । 

दोस्रो : एशोसियनले सन् २००० को नोभेम्बर २२ देखि २६ सम्म भृकुटीमण्डपको प्रदर्शनी हलमा दोस्रो अटो शो आयोजना गरेको थियो । त्यतिबेला ३१ कम्पनीले सहभागिता जनाएका थिए । 

तेस्रो अटो शो : नेपाल अटोमाबाइल डिलर्स एशोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेसले संयुक्तरुपमा सन् २००४ मा आयोजना गरेको थियो । उक्त अटो शोमा ६२ ब्रान्डको सहभागिता रहेको थियो । फ्रेब्रुअरी १८ देखि २२ सम्म वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित अटो शोमा थुप्रै ब्रान्ड तथा उपभोक्तको सहभागी भएका थिए । 

चौथो : करिब तीन वर्षको फरकमा २७ सेप्टेम्बरबाट १ अक्टोबरसम्म सञ्चालित अटो शोमा सहभागी हुने प्रदर्शकको संख्या निक्कै घटेको थियो । वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित शोमा जम्मा ४३ कम्पनीको सहभागि रहेका थिए ।  

पाँचौँ : सन् २००९ को अगस्ट २८ बाट १ सेप्टेम्बरसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजित अटो शोमा जम्मा ३२ ब्रान्डको सहभागिता रहेको थियो । 

छैटौँ : त्यस्तै, सन् २०११ को सेप्टेम्बर ७ बाट ११ सम्म आयोजित अटो शोमा सहभागी हुने कम्पनीको संख्या अघिल्लो वर्षको अटो शोभन्दा बढेको थियो । त्यतिबेला ३८ कम्पनीको सहभागिता रहेको थियो । 

सातौँ : सन् २०११ बाट एशोसिएसनले नेपालमा प्रत्येक वर्ष अटो शो आयोजना गर्ने निर्णय गर्यो । सोहीअनुरुप २०१२ को सेप्टेम्बर १९ बाट २३ सम्म आयोजित सातौँ अटो शोमा ५५ कम्पनीको सहभागिता रह्यो । 

आठौँ : २०१३ सेप्टेम्बर ११ बाट १५ सम्म आयोजित आठौं अटो शोमा ४० कम्पनीको सहभागिता रहेको थियो । त्यतिबेला नेपाल अटोमोबाइल डिलर्स एशोसिएसनले मात्रै अटो शो सञ्चालन गरेको थियो । 

नवौँ : नवौँ अटो शो २०१४ को सेप्टेम्बर ३ बाट ८ सम्म सञ्चालन भएको थियो । अटो शोमा ५० कम्पनीको सहभागिता रहेको थियो । 

दशौँ : दशौँ नाडा अटो शोबाट सहभागी हुने कम्पनी तथा उपभोक्ताका संख्यामा उल्लेख्य वृद्धि भएको थियो । सन् २०१५ को सेप्टेम्बर १५ बाट २० सम्म भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजित अटो शोमा ६५ कम्पनीको सहभागिता रहेको थियो । 

एघारौँ : सन् २०१६ को ३० अगस्टबाट ४ सेप्टेम्बरसम्म सञ्चालित अटो शोमा भने ७४ कम्पनीको सहभागिता रहेको थियो । नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले आयोजना गरेको शोमा हजारौँ उपभोक्ताको सहभागिता रहेको थियो । 

बाह्रौँ : गतवर्ष २९ अगस्टदेखि ३ सेप्टेम्बरसम्म सञ्चालित अटो शोमा ८३ कम्पनीको सहभागिता रहेको थियो । अटो शोमा सहभागी हुने कम्पनीले करोडौँको व्यापार गरेका थिए । उपभोक्ताको पनि उल्लासमय सहभागिता रहेको थियो । 

१३ औँ नाडा अटो शो : आज भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘१३ औँ नाडा अटो शो’ सुरु हुँदैछ । नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालले सदाझैँ यसपटक पनि नाडा अटो शो गर्न लागेको हो । अटो शोमा चारपाङ्ग्रे, दुईपाङ्ग्रे र अटो कम्पोनेन्टको अत्याधिक मागलाई ध्यानमा राखी यस वर्ष तीनवटा ह्याङ्गर राखिएको छ ।

६ दिनसम्म चल्ने सो मेलामा १९ वटा ब्राण्डका चारपाङ्ग्रे २० वटा ब्राण्डका दुईपाङ्ग्रे सवारीसाधनहरू रहेका छन् भने, साना–ठूला गरी एक सय ३४ वटा स्टल रहनेछ । यो वर्षको मेला अवधिभर कुल ६० हजार दर्शकले प्रत्यक्षरुपमा अवलोकन गर्ने आयोजकको दाबी छ । अटो शोमा प्रवेशका लागि टिकटको मुल्य विद्यार्थीका लागि एक सय ५० रुपैयाँ र अन्य व्यक्तिको लागि दुई सय रुपैयाँ लाग्नेछ ।


Back_to_top