काठमाडौं । यामाहा नेपालले FZs v3 मोटरसाइकललाई स्टाण्डर्ड भेरियन्ट नाम दिएर बजारमा ल्याएको छ । कम्पनीले नेपालमा नै एसेम्बल गरेर ल्याएको स्टाण्डर्ड भेरियन्टमा एबीएस फिचर हटाइएको हो ।
भारतमा उत्पादन हुने यामाहाका मोटरसाइकलमा नन् एबीएस मोडल नै छैनन् । अहिले पनि १२५ सीसी माथिका मोटरसाइकल भारतमा नन् एबीएस भर्सनमा उत्पादन नै हुँदैनन् । तर, नेपालमा भने मूल्य कम गर्ने चक्करमा यामाहाले एबीएस हटाएको हो ।
एबीएस मोटरसाइकलमा ब्रेकिङ सुरक्षाको लागि एक महत्वपूर्ण फिचर मानिन्छ । अकस्मात ब्रेक लगाउँदा दुर्घटना हुने जोखिम भएको कारण सन् २०१९ पछि भारतले १२५ सीसी माथिका सबै मोटरसाइकलमा एबीएस अनिर्वाय गरेको थियो ।
एबीएस हटाउँदा ग्राहकले भने कम मूल्यमा नै यामाहा FZs v3 मोटरसाइकल खरिद गर्न पाउने भएका छन् । यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले एबीएस नभएको FZs v3को मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरेरको छ ।
कम्पनीले केही दिनअघि FZs v3मा एलइडी ब्रेक लाइट थप गरेर ५ हजार मूल्य बढाएको थियो । FZs v3 को स्टाण्डर्ड भेरियन्ट किन्ने ग्राहकले एबीएस तथा कनेक्ट फिचर दुबै पाउने छैनन् ।
यामाहाले पछिल्लो समय नेपालमा नै एसेम्वल गर्न सुरु गरेको छ । नेपालमा नै एसेम्बल गर्ने भएपछि कम्पनीहरुले फिचर थपघट गर्दै आएका छन् ।
यामाहा FZs v3मा १४९ सीसी एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले ८००० आरपीएममा १३.२० बीएच पावर, ६५०० आरपीएममा १२.१ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स उपलब्ध छ ।


