दुई भेरियन्टमा नेपाल आउँदै ‘एवोन भी’, मूल्यमा ठूलै अन्तर हुने

काठमाडौं । सिजी मोटर्स आधिकारीक बिक्रेता रहेको एवोन ब्राण्डको नयाँ एसयूभी ‘एवोन भी’ दुई भेरियन्टमा नेपाल आउने भएको छ । कम्पनीले डिसेम्बरबाट बिक्री सुरु गर्नेगरी एवोन भी नेपाल ल्याउन लागेको हो ।

सिजीले एवोन भी मोडललाई ६२ र ७५ किलोवाट आवर क्षमताको ब्याट्रीमा ल्याउने भएको हो । कम्पनीले ल्याउने नयाँ एसयूभीको रियर वर्ल्ड रेन्ज ५३० किलोमिटरसम्म हुने बताइन्छ ।

एवोन-भीलाई कम्पनीले ४०० भोल्ट आर्किटेक्चरमा उत्पादन गरेको भएपनि ६० प्रतिशत चार्जिङ टाइम कटौती गर्न सक्षम भएको दावी गरेको छ । अहिले यसमा प्रयोग भएको सिएटीएलको ब्याट्रीलाई १५ मिनेट चार्ज गर्दा ३७० किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ ।

कम्पनीले ल्याउने दुई भेरियन्टको मूल्य पनि ८ देखि १० लाखसम्म अन्तर हुने बताइन्छ । सिजीले सम्भवत ६० देखि ७० लाखको बीचमा मूल्य कायम गरेर बिक्री सुरु गर्ने अनुमान गर्न सकिन्छ ।

जीएसीको एवोन-भी आफ्नो डिजाइन, लुक्स र प्रेजेन्टेसनको कारण चर्चा कमाइ रहेको मोडल हो । कम्पनीका अनुसार एवोन-भीमा २३ प्रकारका टेक्नोलोजी फिचर र ८ प्रकारका कोर यूजर भ्यालू पाउन सकिन्छ । सेल्फ इभल्भीङ एआई ककपीट, एडीगो सेन्स, एआई मोडल प्रयोग भएको कारण चालकले धेरै कुरा गाडीको सिस्टमसँग गर्न सक्नेछन् ।

नेपाली बजारमा १०० किलोवाट क्षमताको मोटरमा उपलब्ध हुने अनुमान गरिएको एवोन-भीको लम्बाई ४६०५ एमएम छ । यसमा २७७५ एमएम लामो ह्वीलवेस प्रयोग भएको छ ।


Back_to_top