काठमाडौं । जिलीको आधिकारिक रूपमा नेपाल प्रवेश भएको छ । एलआरआर मोटर्सले आजबाट सुरू भएको नाडा अटो शो २०२५ मार्फत जिलीका उत्पादनको औपचारिक बिक्री सुरू गरेको हो ।
कम्पनीले जिलीको ग्यालेक्सी ईएक्स-फाइभ एसयूभी मार्फत नेपाली बजारमा प्रवेश गरेको हो । जिलीको सहायक कम्पनी फ्लाइमी अटोमार्फत नेपाल आएको ईएक्स-फाइभ अन्तर्राष्ट्रिय बजारमा निकै राम्रो संख्यामा बिक्री हुँदै आएको मोडल हो ।
नेपाल आएको ग्यालेक्सी ईएक्स-फाइभ अष्ट्रेलियन बजारमा बिक्री हुँदै आएको स्पेक हो । यसलाई एलआरआर मोटर्सले दुई भेरियन्टमा उपलब्ध गराएको छ । यसको इन्ट्री भेरियन्ट प्रो हो भने टप भेरियन्ट म्याक्स हो । कम्पनीले प्रो भेरियन्टको मूल्य ५७ लाख ९९ हजार र म्याक्स भेरियन्टको ६७ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
अटो शोमा बुकिङ गर्नेलाई बम्पर छुट र उपहार
एलआरआर मोटर्सले नाडा अटो शो २०२५ को दौरान जिली ईएक्स-फाइभ बुकिङ गर्ने ग्राहकलाई भारी नगद छुट हुने जनाएको छ । कम्पनीका अनुसार प्रो भेरियन्टमा ३ लाख रुपैयाँ नगद छुट दिइएको छ । अटो शोमा प्रो केन्नेले ५४ लाख ९९ हजार रुपैयाँ तिर्दा पुग्छ ।

नगद छुटका अलावा कम्पनीले एक थान आइफोन १६ प्रो म्याक्स र एक तोला सुन प्रदान गर्नेछ ।
टप भेरियन्टको अफर मूल्य ६४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसमा पनि ४ लाख रुपैयाँ नगद छुट प्रदान गरेको हो । म्याक्स भेरियन्टमा पनि गाडी किन्नेले एक तोला सुन र आइफोन १६ प्रो म्याक्स पाउने छन् ।
यस्तो छ ईएक्स-फाइभ
जिली ईएक्स फाइभ एक आकर्षक एसयूभी हो । यसको डिजाइन, प्रविधि, ब्याट्री क्षमता र मूल्य सबै आकर्षक लाग्छ । ग्यालेक्सी ईएक्स फाइभ स्नो-ह्वाइट, फ्रोस्टी ग्रे, मूनलाइट सिल्भर, कार्बन ब्ल्याक र टुक्र्वोइज ग्रिन गरी ५ आकर्षक रङमा उपलब्ध छन् ।

ईएक्स फाइभको दुवै भेरियन्टमा १६० किलोवाटको मोटर जडान गरिएको छ । यसले दिने २१५ हर्सपावरले ६.९ सेकेन्डमै ० देखि १०० किलोमिटर गुड्ने क्षमता राख्छ ।
ब्याट्रीको साइज पनि दुवै भेरियन्टमा समान ६०.२ किलोवाट आवरको छ । सर्ट ब्लेड ब्याट्री भएको कारण यसको सुरक्षा मापदण्ड अब्बल मानिन्छ । एलआरआर मोटर्सले ब्याट्रीमा ८ आठ वर्ष वा अन लिमिटेड किलोमिटर वारेन्टी प्रदान गरेको छ ।

ईएक्स फाइभको बाह्य डिजाइन आधुनिक र एरोडायनामिक प्रोफाइलमा आधारित छ । सार्प र बलियो बडी डिजाइन देखिने एसयूभीमा १५.४ इन्चको टच स्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, १०.२ इन्चको डिजिटल क्लस्टर, वायरलेस चार्जिङ, भ्वाइस कमान्ड, प्यानोरामिक सनरुफ पाउन सकिन्छ ।
दुवै भेरियन्टमा सुरक्षाका लागि ६ वटा एयरब्याग, एबीएस, ईबीडी, इएससी, एइबी, ब्लाइन्ड स्पट मोनिटरिङ, हिल अशिष्ट लगायतका फिचर छन् । दुवैमा इन्टिग्रेटेड स्मार्ट यूआइ, एपमार्फत गाडीको गति नियन्त्रण गर्ने सुविधा पनि रहेको छ ।

