काठमाडौं । १०० वर्षभन्दा पुरानो ‘जेनेभा इन्टरनेशनल मोटर शो’ सधैँका लागि बन्द भएको छ । सन् २०२५ को फेब्रुअरी १७ मा स्वीटजरल्याण्डको जेनेभामा हुने तय भएको मोटर शो सधैँका लागि बन्द हुने भएको हो ।
उत्पादकहरुको सहभागीता नहुनु, पेरिस तथा म्युनीख अटो शोबाट भएको प्रतिस्पर्धाको कारण देखाउँदै जेनेभा अटो शो बन्द हुने भएको हो । सन् १९०५ बाट सुरु भएको उक्त शो सन् २०२० मा कोभिडका कारण अन्तिम समयमा स्थगित भएको थियो ।
सन् २०१९ पछि २०२४ मा भएको जेनेभा मोटर शोमा केबल २३ वटा उत्पादकहरुले आफ्नो गाडी प्रदर्शनी गरेका थिए । यसमा युरोपियन ब्राण्डको रुपमा रेनोको मात्र उपस्थिति थियो ।
युरोपका ठूला अटोमोवाइल उत्पादक ग्रुप स्टेलान्टीस र फक्सवागेनले समेत सहभागिता जनाएनन् । त्यसैले अटो शो खल्लो भएको थियो । यूरोपियन ब्राण्डको उपस्थिति नभएपनि चिनियाँ ब्राण्डहरुको उपस्थिति भने बाक्लो थियो ।
केही वर्ष अगाडिसम्म जेनेभामा इन्टरनेशनल मोटर शोमा १२० भन्दा धेरै प्रदर्शक तथा ६ लाख अवलोकनकर्ताको सहभागिता हुने गरेको थियो । तर, कोभिड महामारीपछि त्यस्तो अवस्था बन्न सकेको थिएन ।
स्विजरल्याण्डमा हुने जेनेभाको मोटर शो बन्द भएपनि जेनेभा इन्टरनेशनल मोटर शो आगामी २०२५ को नोभेम्बर महिनामा कतारमा आयोजना हुनेछ । सन् २०२३ मा पहिलो पटक कतारको दोहामा आयोजना भएको जीआईएमसी कतार मोटर शोलाई जेनेभाको मोटर शोको बन्दले कुनै प्रभाव पार्ने छैन ।

