किया ईभी-थ्रीको मूल्य ४१ लाखबाट सुरू

काठमाडौं । कोरियन कार निर्माता कियाले केही दिनअघि ग्लोवल डेब्यू गरेको ईभी-थ्रीको मूल्य र भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो नयाँ मोडललाई तीन भेरियन्टमा ल्याएको हो ।

कोरियामा किया ईभी-थ्रीको वेस भेरियन्टको मूल्य ४१ लाख रुपैयाँ (४२.०८ मिलियन वन), अर्को अर्थ भेरियन्टको मूल्य करिब ४४ लाख ५० हजार (४५.७१ मिलियन वन) र माथिल्लो जिटी लाइन भेरियन्टको मूल्य ४५ लाख ५० हजार रुपैयाँ (४६.६६ मिलियन वन) तोकिएको हो ।

कोरिया सरकारले दिने अनुदान रकम जिटी लाइन भेरियन्टले पाउने भएको कारण यसको मूल्य अर्थ भेरियन्टको तुलनामा कम भएको हो ।

कम्पनीले यसमा ५८ किलोवाट आवर र ८१ किलोवाट आवर क्षमताको ब्याट्री दिएको छ । सानो ब्याट्रीले ३५० किलोमिटर र ठूलो ब्याट्रीले ५०१ किलोमिटर रेन्ज दिने दावी कम्पनीले गरेको छ ।

हुन्डाई ग्रुपको ई-जीएमपी इलेक्ट्रीक भेहिकल प्लेटफर्ममा बनेको किया ईभी-थ्रीले ३५० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । यसलाई १० देखि ८० प्रतिशत चार्ज गर्न केबल २९ मिनेट लाग्नेछ ।

कियाले यसलाई १५० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएर बजारमा ल्याएको हो । आफ्नो प्रिमियम एसयूभी ईभी–नाइनको बडी डिजाइनबाट प्रेरित ईभी–थ्रीको फन्ट फेसिया निकै बोल्ड लाग्छ । अगाडिको फेसियालाई एल आकारमा दिइएको एलइडी डे टाइम रनिङ लाइट र डट प्याट्रनमा प्रयोग गरिएको एलइडी हेडल्याम्पको कम्बीनेशन निकै उत्कृष्ट देखिएको छ ।

बडी क्लाडिङ, फ्रन्टमा दिइएको बडी कलरभन्दा पृथक सिल्भर कलर एसेन्ट, ड्यूल टोन अलोय ह्वीलले सडकमा ईभी–थ्रीलाई पृथक देखाउने सहजै अनुमान लगाउन सकिन्छ ।

यसको क्याविनमा १०.२५ इन्चका दुई स्कृन एकसाथ जोडेर दिइएको छ । दुई मध्ये एक इन्फर्मेशन डिस्प्ले हो भने अर्को इन्फोटेन्टमेन्ट सिस्टम हो । गाडी सम्बन्धी सम्पूर्ण जानकारी र सेटिङहरु यहाँ पाउन सकिन्छ ।

थ्री स्पोक स्टेरिङ ह्वील, फ्लोटिङ सेन्टर कन्सोल, एम्बीयन्ट लाइट, निकै स्लीक ड्यासबोर्ड डिजाइन, म्यूजिक र लग्जरीको संयोजन यसको क्याविनमा पाउन सकिन्छ ।


Back_to_top