काठमाडौं । ईभीको दौडमा जनरल मोटर्सले पावरफुल ८.३ लिटर डुराम्याक्स टर्बोडिजेल भी-८ इन्जिन सार्वजनिक गरेको छ । ‘मङ्गुस’ नाम दिइएको उक्त नयाँ इन्जिनले ५५५ हर्सपावर र १६६८ न्यूटन मिटर टर्क प्रदान गर्छ ।
जनरल मोटर्सले ठूला पिकअपमा प्रयोग गर्न ल्याएको नयाँ इन्जिनको पावर र टर्क फोर्डको उच्च क्षमताको पावरस्ट्रोक डिजेल इन्जिनभन्दा अगाडि देखियो ।
अमेरिकी अटो निर्माता जनरल मोटर्सले नयाँ इन्जिन सन् २०२७ को शेभ्रोलेट सिल्भेराडो एचडी र जीएमसी सिएरा एचडी पिकअपमा दिनेछ । अहिले यी पिकअपमा ६.६ लिटर डुराम्याक्स डिजेल इन्जिन छ । जसको पावर ४७० हर्सपावर र १३२२ एनएम टर्क थियो ।
नयाँ ८.३ लिटर इन्जिनले अघिल्लो पुस्ताको तुलनामा ८५ हर्सपावर र ३४६ एनएम बढी टर्क उत्पादन गर्छ । जनरल मोटर्सका अनुसार यो पुरानो इन्जिनलाई परिमार्जन गरेर तयार पारिएको नभई पूर्ण रूपमा नयाँ डिजाइनमा आधारित इन्जिन हो ।
नयाँ डिजेल इन्जिनसँग एलिसन १०-एल१००० ‘१०-स्पीड’ अटोमेटिक गियरबक्स प्रयोग गरिएको छ । यसको अधिकतम तान्ने क्षमता करिब १७.२ टन पुगेको छ । अधिकतम टोइङ क्षमतामा भने फोर्डको अझै अगाडि देखिन्छ ।

