म मन्त्रीलाई नाथे प्लेन नरोक्ने !

कुरा ७ वर्ष अघि, सिड्नी एयरर्पोटको हो । ९ बजे उड्ने जहाज भेट्न म हस्याङफस्याङ गर्दै जहाजको काउन्टर तर्फ डौडदैं थिएँ । काउन्टरकी कर्मचारी आफ्नो सबै काम सकाएर निक्लदैं थिइन् । जहाजको ढोका बन्द भैसकेको रहेछ, उड्न ठिक्क परेको । त्यहाँबाट जहाजसम्म पुग्न करिब आधा घण्टा समय लाग्ने हुनाले म कुनै पनि हालतमा त्यो जहाजमा उड्न नभ्याउने जानकारी ती कर्मचारीले दिइन् । 

एक जना यात्रुको लागि अरु दुई÷तीन सय यात्रुलाई कुराई राख्नु कुनै लोकतान्त्रिक मुलुकका लागि सुहाउने कुरा पनि भएन र त्यतिका यात्रुको अधिकार एक यात्रुका लागि कुन्ठित गर्ने कुरा पनि भएन । 

मसँग हारगुहार गर्न सक्ने कुनै जायज कारण पनि थिएन । म आफैँलाई सराप्दै र अष्ट्रेलियाको लोकतान्त्रिक परिपाटी प्रति हार्दिक रुपले नतमस्तक हुँदै एयरर्पोटबाट बाहिरिएँ । र, भोलीपल्ट थप १ सय ७५ डलर जति जरिवाना तिरेर टिकट लिएँ र आफ्नो गल्तीको सजाय भोगेँ ।

उनी एक रात भैरहवामै बस्दा आकाश खस्नेवाला पनि थिएन । भैरहवाका पत्रकार र सर्वसाधारणले केही हप्कीदप्की खान्थे होलान् । अनी त्यही हप्कीदप्कीबाट काठमाडौंका जोगिन्थे । कुरा यत्ति न हो । 

नेपालमा अकालमै धर्ती छाडेका एक जना होनहार कम्युनिष्ट नेता थिए, मदन भण्डारी । उनी लोकतान्त्रीक मुलुक हाँक्ने कुनै पनि नेता सामान्य जनताको सार्वभौमिकता र लोकतान्त्रिक अधिकार प्रति हार्दिकरुपले नतमस्तक हुनुपर्ने बिचार राख्थे । तर, दुर्भाग्यवश लोकतान्त्रिक समाजवादी मुलुक नेपालमा पछिल्ला दुई हप्तामा एक पटक लोकतन्त्र वानेश्वर सडकखण्डमा नराम्रोसँग पछारियो र अर्कोपल्ट भैरहवाको आकाशमै छुट्यो । 

वानेश्वर काण्ड एक बयोबृद्ध पूर्वप्रधानमन्त्रीसँग सम्बन्धित छ । उनको पछुवा गाडीले ट्राफिक नियम उल्लङ्घन गर्दै एक सर्वसाधारणको स्कुटरलाई ठक्कर दिएर लडाइदियो । र, लडाए पश्चात् गल्तीको महशुस गर्नुत परैजाओस् सामान्य मानवियता देखाउन समेत चाहेन वा देखाएन । स्कुटरबाट लडेकालाई उठाई अस्पतालसम्म पु¥याउने जिम्मेवारी पनि बहन नगरि आफ्नै रफ्तारमा हुँइकियो । 

यहाँ मुख्य रुपमा चर्चाको विषय चाहीँ यो नभएर बुद्ध एयरले सरकारको प्रभावशाली मन्त्री गोकुल बाँस्कोटालाई भैरहवामै छाडेर काठमाडौं तर्फको उडान भरेको घटना हो ।

यहाँ रोचक कुरा के छ भने लोकतान्त्रिक ब्यवस्थामा प्रभावशाली नेतृत्व गर्न लोकतान्त्रिक मूल्य मान्यता प्रति प्रतिबद्ध भएर मात्र पुग्दैन, हार्दिक रुपले नतमस्तक हुनुपर्छ भन्ने नेताकै पार्टीको उदयीमान र प्रभावशाली मन्त्री हुन् । उनी जे सुकै भए पनि उनकै पार्टीका स्वर्गीय नेताको लोकतान्त्रिक मानकमा उनी खरो उत्रन सकेनन् ।

मन्त्री बाँस्कोटाले भनेका छन्, ‘मलाई त केही समय कुर्न नसक्ने जहाजले आम जनतालाई झन् के गर्दो हो ।’ 

लोकतान्त्रिक मुलुकमा नियम सबैका लागि एउटै हो । माथि उल्लेख भएको घटनामा मेरो जहाज छुटेको थियो । मेरो ठाउँमा त्यहाँका कुनै मन्त्री भएका भए र उनको जहाज छुट्ने कारण पनि मेरै जस्तो भएको भए उनको हालत पनि मेरै जस्तो हुने थियो । कुनै विशेष परिस्थितीमा बेग्लै कुरा । तर, मन्त्रीले कुनै विशेष परिस्थितीको जिकर गरेका छैनन् । मात्र भनेका छन्, ‘मलाई नक्ुर्ने’ । 

कुरो बुझ्दा, उनी एक रात भैरहवामै बस्दा आकाश खस्नेवाला पनि थिएन । भैरहवाका पत्रकार र सर्वसाधारणले केही हप्कीदप्की खान्थे होलान् । अनी त्यही हप्कीदप्कीबाट काठमाडौंका जोगिन्थे । कुरा यत्ति न हो । हप्कीदप्की र उनको ‘तेवर’ देश बाहिर जाने वा खेरै जाने त थिएन !

एयरलाइन्स भन्छ, ‘मन्त्रीका लागि ३०–३५ मिनेट उडान रोकेको भए जहाज भैरहवामै बस्नुपर्ने थियो । जहाज मन्त्रीका लागि कुरेर बस्दा उडान नहुने अवस्था आउने र अन्य ६८ यात्रुले सास्ती भोग्नुपर्ने थियो ।’

तर, लोकतान्त्रिक मुलुकका प्रभावशाली मन्त्री गोकुल बाँस्कोटाले एक पत्रकार सम्मेलनमा भने, ‘बुद्ध एयर भन्नेले गर्नुग¥यो । नयाँ वर्षमा लुम्बिनी जस्तो पर्यटकीय स्थलमा यस्तो हालत छ, उडाउँछु भनेर यात्रुलाई अलपत्र पार्ने ?’

बुद्ध एयरसँग गरेको प्रतिवादमा उनले आफ्नो आकस्मिकता, विशिष्ट परिस्थिति, यात्रुले भोग्नु पर्ने सास्तीको उल्लेख गरेका छैनन् । उनको कुरा एउटै छ, ‘म मन्त्री, म जान्ने, म स्वयं सरकारको प्रबक्ताको जिम्मेवारी समेत बहन गरेको मान्छेलाई नाथे प्लेन नरोक्ने !’

कुनै लोकतान्त्रिक मुलुकमा यस्ता भाव र अभिब्यक्ति दिने मन्त्रीको हालत कस्तो हुँदो हो ? उनी न्युजिल्याण्डको मन्त्री हुन्थे भने त्यहाँकी प्रधानमन्त्री जेसिण्डा आर्डेनले के गर्दी हुन् ? तत्कालै बर्खास्त ! 

उनले जे सुकै गरे पनि गोकुल बाँस्कोटाले नेपाली लोकतन्त्रको धोती फुस्काएकै छन् । र, आफ्ना स्वर्गीय श्रदेय नेताको अपमान गरेका छन्, आफुलाई जनता भन्दा अब्बल ठानेर ।

बुद्ध एयर मन्त्रीलाई छाडेर हिरो भएको छ, पछिल्लो समय । ‘आममानिसको विश्वास गुमाइसकेको सरकार र त्यसका अत्यन्त अलोकप्रिय प्रवक्ता मन्त्री बास्कोटाको जुँगा उखालेर हिरो हुन खोज्ने बुद्ध एयर ज्यू, तपाईंको सेवा र टिकेट मूल्यमा गम्भिर समस्या छन् । भिआइपी कुरेर जहाज उडाउन ४० मिनट ढिला भएको पनि म आफैंले भोगेको छु ।’ मानवशास्त्री सञ्जीव पोखरेल ट्वीटरमा लेख्छन् ।   


Back_to_top