लुम्बिनी । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मुआब्जा पाउनुपर्ने माग राख्दै सोमबारदेखि जारी आन्दोलन स्थगित भएको छ । तत्काल मुआब्जा वितरणका लागि २ अर्ब रुपैयाँ आयोजनामा आएपछि आन्दोलन स्थगित गरिएको आन्दोलनरत पक्षले जनाएको छ ।
मुआब्जा वितरणका लागि २ अर्ब आइसकेको भोलिबाटै वितरण शुरु गरिने निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ओम शर्माले जानकारी दिनुभयो । मुआब्जा पाउने भएपछि स्थानीयवासीले गरेको आन्दोलन फिर्ता लिएसँगै विमानस्थलको निर्माण कार्य पुरानै गतिमा सञ्चालन भएको पनि उहाँले जानकारी दिए ।
एक महिना अगाडि नै मुआब्जा वितरणका लागि अर्थमन्त्रालयबाट ५ अर्ब निकासा भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले उक्त मुआब्जाको रकम आयोजनाको खातामा नपठाएका कारण पीडितले मुआब्जाको माग गर्दै तीन दिनदेखि आन्दोलन गर्दै आएका थिए । उनीहरुले गौतमविरुद्ध नाराबाजी गर्दै उनको राजीनामासमेत माग गरेका थिए ।
आन्दोलनको नेतृत्व गरेका प्रदेश नं ५ का प्रदेशसभा सदस्य सन्तोष पाण्डेयले मुआब्जा वितरणका लागि अर्थमन्त्रालयबाट निकासा भएको ५्र अर्बमध्ये २ अर्ब आइसकेको जानकारी पाएपछि आन्दोलन स्थगन गरिएको बताए ।
उनले बाँकी ३ अर्ब पनि दुई दिनभित्र आउने पर्यटन राज्य मन्त्रीबाट आश्वासन पाएका कारण आन्दोलन स्थगन गरिएको बताउँदै बाँकी रहेको ३ करोड दुई दिनभित्र नआए आन्दोलन थप सशक्तरुपमा अगाडि बढाउने चेतावनी दिए ।
त्यस्तै, पीडितहरुले आगामी साउन महिनादेखि १० लाखबाट लाभकर तिर्नुपर्ने व्यवस्थाको विरोध गर्दै लाभकर खारेज गर्नुपर्ने माग गरेका छन् ।