सरकारको निर्णयले टर्बो इन्जिन गाडी किन्नेलाई राहत, आकर्षण बढ्दै

काठमाडौं । नेपाल सरकारले २०७५/७६ बजेटबाट सीसीको आधारमा सवारी साधनमा कर लगाउने घोषणा गरेसँगै नेपाली बजारमा अटाे  इन्जिन जडित कारहरु आउन थालेका छन् ।

टर्बो इन्जिन भएको कारमा दिइएको १ हजार वा १२ सय सीसी क्षमताका इन्जिनले सामान्य १५०० देखि १६०० सीसीका नेचुरल एस्पायर्ड इन्जिन जडान भएका कार सरह पावर र टर्क प्रदान गर्ने गर्छ ।

पछिल्लो समय कार उत्पादक कम्पनीहरुले साना टर्बो इन्जिनमा आफ्ना उत्पादन बजारमा ल्याउन थालेका छन् । अहिले नेपालमा स्कोडा, फक्सवानगन, महिन्द्रा, टाटा, हुन्डाई जस्ता कम्पनीले साना कारमा पनि टर्बो इन्जिन दिएर बिक्री गर्दै आएका छन् ।

विशेषत १.० लिटरदेखि १.२ लिटर क्षमताका टर्बो इन्जिन भएका गाडी नेपालमा सफल हुँदै गएका छन् । हुन्डाई भेन्यू, महिन्द्रा एक्सयूभी ३००, टाटा नेक्सन, स्कोडा र्‍यापीड, फक्सवागन पोलो र भेन्टो नेपालमा बिक्री हुँदै आएका सानो क्षमताका टर्बो इन्जिन उपलब्ध कारहरु हुन् ।

नेपाल सरकारले इन्जिन क्षमताको आधारमा सवारी साधनमा कर लगाउँदै आएकाले नेपालमा टर्बो इन्जिनयुक्त कारको अन्तःशुल्क कम लाग्ने गर्छ । १.० लिटर इन्जिनमा आउने टर्बो इन्जिनले १.२ नेचुरल्ली एस्पायर्ड इन्जिनको तुलनामा ५ प्रतिशत कम अन्तःशुल्क तिर्दा पुग्छ । तर पावर र टर्क भने १.० लिटर क्षमताको इन्जिनले धेरै प्रदान गर्छ ।

टर्बो इन्जिनले नेचुरल एस्पायर्ड इन्जिनको तुलनामा २५ देखि ३० प्रतिशतसम्म बढी पावर प्रदान गर्ने क्षमता राख्छ । त्यसैले पावर चाहनेहरुलाई कम सीसीमा बढी पावरले आकर्षित गर्ने गर्छ । तुलनात्मकरुपमा १.२ लिटर नेचुरल एस्पायर्ड इन्जिनको तुलनामा १.० लिटर टर्बो इन्जिन चलाउँदा चालकले सहज ड्राइभिङको मज्जा लिन पाउने छन् ।

टर्बो इन्जिनको अर्को फाइदा माइलेज पनि हो । नेचुरल एस्पायर्ड इन्जिनको तुलनामा टर्बो इन्जिनले १० देखि १५ प्रतिशतसम्म बढी माइलेज दिने कम्पनीहरुले दाबी गर्दै आएका छन् ।

के हो टर्बो ?

टर्बाे एक मेकानिकल पार्टस हो, यसको प्रयोगले इन्जिनमा हावाको फ्लोलाई बढाउन मद्दत गर्छ । सुइजरल्याण्डका इन्जिनियर अल्फ्रेड बुचीले सन् १९०५ मा यसको पहिलो प्याटेन्ट दर्ता गरेका थिए । तर बास्तविक प्रयोग भने १९२३ मा मात्र भएको थियो ।

पहिलो पटक यस टेक्नलोजीको प्रयोग पानी जहाजको इन्जिनमा भएको हो । जसको सहायताले १७५० हर्सपावर उत्पादन गरिरहेको इन्जिनबाट २५०० हर्सपावर पावर उत्पादन भएको थियो ।

अमेरिकी कम्पनी सेभ्रोलेले आफ्नो पेट्रोल इन्जिनमा यसको पहिलो प्रयोग गरेको थियो । आज भोलि यूरोपियन बजारमा बिक्ने ७० प्रतिशत सवारी साधनमा टर्बो चार्जर जडित हुने अनुमान गरिएको छ ।

यसरी गर्छ काम

इन्जिनले प्राकृतिकरुपमा एयर फिल्टरबाट हावा तान्ने काम गर्छ, जुन कम्बस्चन चेम्बरमा गएर फ्यूलसँग मिसिएर जल्ने गर्छ । फलस्वरुप इन्जिनबाट शक्ति उत्पादन हुन्छ र गाडी चल्छ ।

एउटा टर्वाइनले इन्जिनबाट आएको दूषित तातो हावाल बाहिर फाल्ने काम गर्छ भने त्यहिसँगै जोडिएको अर्को टर्वाइन घुम्ने क्रममा बाहिरको ताजा हावा कम्प्रेस गरेर इन्जिनमा पठाउने काम गर्छ ।

कम्बस्चन चेम्बरमा फ्यूल जलेपछि त्यहाँबाट प्रदुशित ग्याँस पनि उत्पादन हुने गर्छ जुन एक्जस्ट पाईपबाट बाहिरी वातावरणमा मिसिन्छ । यो प्रदुशित हावा इन्जिनबाट बाहिर जाँदा ठूलो फोर्समा बाहिर निस्कने गर्छ । जसमा इनर्जी त्यतिकै खेर गइरहेको हुन्छ । टर्बो चार्जरले यहि इन्जिनबाट बाहिर जाँदै गरेको हावाको शक्तिलाई प्रयोग गरेर इन्जिनमा थप हावा पठाउने काम गर्छ । जसको सहयोगमा इन्जिनको प्रफर्मेस बढ्न गई धेरै पावर उत्पादन हुने गर्छ ।

टर्बो चार्जर इन्जिनमा एक्जस्ट पाइपसँगै टर्बो लगाइएको हुन्छ । विशेषतः यसमा दुईवटा टर्वाइन लगाइएको हुन्छ । एउटा टर्वाइनले इन्जिनबाट आएको दूषित तातो हावाल बाहिर फाल्ने काम गर्छ भने त्यहिसँगै जोडिएको अर्को टर्वाइन घुम्ने क्रममा बाहिरको ताजा हावा कम्प्रेस गरेर इन्जिनमा पठाउने काम गर्छ ।


Back_to_top