मोटरसाइकल र स्कुटरमा पनि जीपीएस अनिवार्य

काठमाडौं । यातायात व्यवस्थापन विभागले निजी सवारीमा जीपीएस जडान अनिवार्य गर्ने भएको छ । विभागले सार्वजनिक यातायातसँगै निजी सवारीमा पनि जीपीएस जडान गर्ने योजना बनाएको हो । 

विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार आगामी आर्थिक वर्षभित्र लागु हुनेगरि उक्त योजनालाई अघि बढाउने काम भइरहेको छ । 

‘हामी आउँदो चालु आर्थिक वर्षमा यसलाई लागु गर्ने गरी गृहकार्य गरिरहेका छौँ, बिज्ञ राखेर काम अगाडि बढाउने तयारीमा छौँ,’ दाहालले मेरोअटोसँग भने । 

उनले जीपीएस जडानका लागि प्रतिडिभाइस ३० डलर पर्ने अनुमान गरिएको बताए । 

जीपीएस ट्रयाकिङ मार्फत सवारी साधन अनुगमन गर्न सहज हुने भन्दै यो सिस्टम जडान गर्न लागेको हो । 

सवारीमा जीपीएस सिस्टम जडान भएपछि जीपीएस जडान भएका सवारीहरुलाई एउटै कक्षबाट निरीक्षण र निगरानी गर्न सकिने उनले बताए । 

‘जीपीएस जडान गरेपछि कन्ट्रोल रुम बनाइन्छ, त्यसैबाट देशभरका सवारी व्यवस्थापनको अवस्था एउटै कक्षबाट निरीक्षण गरेर नियन्त्रण गर्ने योजनामा हामी छौँ,’ दाहालले भने । 

उनले स्कुटर र मोटरसाइकलदेखि निजी सार्वजनिक सबै सवारीमा जीपीएस जडान अनिवार्य गराउने तयारी विभागले गरेको जानकारी दिए । जीपीएस सिस्टम जडान गरेपछि कुन सवारी, कति बजे, कहाँबाट छुट्यो ? कुन ठाउँमा कति बजे पुग्योदेखि कहाँ कसरी दुर्घटना भयो भन्ने कुरा पनि थाहापाउन सकिने उनले बताए । यसको नियमन गर्ने जिम्मेवारी ट्राफिक प्रहरीलाई दिइने छ । 

नेपालमा जीपीएस अनिवार्य भएसँगै आयात हुने नयाँ गाडीमा नै अनिवार्य गर्न सकिने उनको भनाई छ । 


Back_to_top