ग्वार्को फ्लाइओभरको काम ७० प्रतिशत पूरा, यस्तो छ गाडी गुडाउन मिल्ने मिति

काठमाडौं । ललितपुरको ग्वार्कोमा बन्दै गरेको फ्लाइओभर यही असार मसान्तभित्र संचालनमा आउने भएको छ ।

चालु आर्थिक वर्षको असार भित्रै संचालनमा ल्याउनेगरी काम भइरहेको आशिष समानान्तर रेलिगेयर जेभी निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘ब्रिजको ९० प्रतिशत काम सकिएको छ । अब १ महिना भित्र पूरै सकिन्छ । ब्रिजमा जान रोडको काम ५० प्रतिशत सकिएको छ । सबै गरेर ७० प्रतिशत काम भएको छ । बाँकी ३० प्रतिशत काम अबको २ महिना भित्र सक्ने योजना छ ।’

वर्षाले बाधा नगरे यो काम असार भित्र सकिने प्रोजेक्ट मेनेजर श्रेष्ठको भनाइ छ । अहिले स्लोप बनाउने, पर्खाल लगाउने, ढलान गर्ने, फिनिसिङ गर्ने लगायतका काम बाँकी रहेको उनी बताउँछन् ।

यस आयोजना निर्माणको काम २०८० फागुन १२ गतेभित्र सकिसक्नु पर्ने थियो । तर, उक्त अवधिमा काम नसकिएपछि १० महिना म्याद थप गर्न भनेका छौं’, श्रेष्ठले भने ।

फ्लाइओभरको डिजाइनमा त्रुटि हुँदा केही समय मुख्य निर्माणको काम रोकिएको थियो । फ्लाइओभर निर्माण स्थलको माटो कमजोर भएका कारण डिजाइन नै परिवर्तन गर्नु परेको हो ।

उपत्यकाको जाम न्यूनिकरण गर्न भन्दै २०७९ मंसिर १६ गतेदेखि निर्माण सुरू गरिएको फ्लाइओभर १६ महिना भित्र निर्माण सक्ने लक्ष्य राखिएको थियो ।

ग्वार्को चोकबाट बिएन्डबी अस्पतालतर्फ १८५ मिटर लामो स्लोप बनाइदैछ । त्यस्तै बालकुमारीतर्फबाट ३२० मिटर लामो अर्को स्लोप बन्नेछ । बीचमा ३५ मिटर लामो ओभरहेड ब्रिज बन्छ ।

सडक विभागले २०७८ सालमा फ्लाइओभर निर्माण ठेक्का लगाएर डिजाइनको जिम्मा दिएको थियो । उक्त फ्लाइओभर १७ करोड ६ लाख रुपैयाँमा ठेक्का लागेको हो ।


Back_to_top