अमेरिकाको प्रमुख मोटरसाइकल उत्पादन कम्पनी हार्ले डेभिडसनले विद्युतीय मोटरसाइकल सहित ४ नयाँ मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको छ । भारतीय बजारमा २०२२ सम्ममा ‘मोर रोडस् टू हार्ले डेभिडसन’ योजना सार्वजनिक गर्दै कम्पनीले यस्तो बताएको हो ।
समयको क्रमसंगै उपभोक्ताको चाहना पनि व्यापक रुपमा परिवर्तन भएकाले विद्युतीय सहित नयाँ मोटरसाइकल सार्वजनिक गर्ने योजना बनाइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नयाँ मोटरसाइकल २०१९–२०२० र २०२२ मा बजारमा ल्याउने छ । हार्ले डेभिडसनका नयाँ मोटरसाइकल ५ सय देखि १२ सय ५० सीसीसम्मका इन्जिन क्षमताका हुनेछन् । भारतमा सार्वजनिक हुने मोटरसाइकल भारतका साथै एसियाली बजारलाई लक्षित गरिने कम्पनीले जनाएको छ ।
हार्ले डेभिडसनले विद्युतीय मोटरसाइकल भने २०२२ मा बजारमा ल्याउने जनाएको छ । कम्पनीले विद्युतीय मोटरसाइकल बनाउन भने स्थानीय कम्पनीसंग साझेदारी गर्ने उल्लेख गरेको छ । तर त्यस्तो साझेदार को हुने भन्ने बारे भने केही खुलाएको छैन ।
नेपाली बजारमा समेत हार्ले डेभिसनको आधिकारीक बितरकको रुपमा आईएमइ मोटर्सले विक्री वितरण गर्छ । कम्पनीले ग्रैहीधारामा आफ्नो नयाँ शोरुम निर्माण गरिरहेको छ ।


