‘हार्ले ४४०’को नयाँ भेरियन्ट सार्वजनिक, आउला नेपाल ?

काठमाडौं । हार्ले डेभिडसन ४४० सिरिजमा नयाँ मोटरसाइकल सार्वजनिक भएको छ । कम्पनीले भारतमा उत्पादन गरेको आफ्नो सबैभन्दा सानो इन्जिन क्षमताको हार्ले ‘एक्स ४४० टी’ भेरियन्ट सार्वजनिक गरेको हो ।

यसअघि बजामा रहेको हार्ले डेभिडसन एक्स ४४० को अपडेटेड भर्सनको रुपमा आएको नयाँ मोडल हिरो मोटोकर्प र हार्ले डेभिडसन मिलेर भारतमा उत्पादन गरेको मोडल हो ।

कम्पनीका अनुसार हार्ले एक्स ४४० टी मोडल ल्याएसँगै यसअघि बजारमा रहेको एक्स ४४० डेनिमको उत्पादन भने बन्द भएको छ ।

नयाँ भेरियन्ट पुरानोभन्दा अझै धेरै स्पोर्टी र फ्रेश डिजाइनमा देखिएको छ। कम्पनीले यसको स्टाइलिङ सेग्मेन्टमा सबैभन्दा बढी फोकस गरेको छ।

नयाँ मोटरसाइकलको टेल सेक्सनको डिजाइनमा परिर्वतन देख्न सकिन्छ । यसमा ‘राइड वाइ वायर टेक्नोलोजी’ प्रयोग भएको छ । कम्पनीले यसको सबफ्रेम समते परिर्वतन गरेर ल्याएको हो ।

कम्पनीले हार्ले एक्स ४४० टीमा दुई राइड मोड र रियर स्वीच गर्न सकिने एबीएस सिस्टम दिएको छ । कम्पनीले प्यानिक ब्रेकिङ अलर्ट सिस्टम समेत दिएर थप सुरक्षीत बनाउँदै एक्स ४४० टीलाई बजारमा उतारेको हो ।

यसमा कम्पनीले सिंगल पिस सीट, एलइडी टेल लाइट, नयाँ एग्जस्ट हिट शिल्ड, बार इन्ड मिरर, नयाँ ग्राफिक्स कलर र टेल सेक्सनमा स्पोर्टी चेकर्ड ग्राफिक्स डिजाइन दिएको छ ।

हार्ले एक्स ४४० टीको फ्रन्टमा नयाँ यूएसडी फोर्क र रियरमा डबल सक अब्जर्बार, डबल डिस्कब्रेक, स्विचेबल डबल च्यानल एबीएस, अगाडि १८ इन्च र पछाडि १७ इन्चको अलोय ह्वील छ ।

हार्ले एक्स ४४० टीमा ४४० सीसीको सिंगल सिलिण्डर, एयर र आयल कुल्ड, एफआइ इन्जिन छ । उक्त इन्जिनले अधिकतम २७ ब्रेकहर्स पावर र ३८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स छ ।

हिरो मोटोकर्पले २ लाख ७९ हजार (एक्स शोरुम) तोकेर भारतीय बजारमा यसको बिक्री थालेको हो ।

आउला नेपाल ?

नाडा अटो शो २०२५ मै हार्लेले नेपालमा रि–इन्ट्रि गर्ने हल्ला चलेको थियो । यसअघि आइएमइ ग्रुपसँग भएको हार्ले डेभिड्सनको डिलरशिप हिरो मोटरसाइकल बिक्रेता सिजी मोटर्सले लिएसँगै नेपालमा हार्लेका ४४० सिरिज नेपाल आउने हल्ला चलिरहेको छ ।

सिजी मोटर्सले पनि नेपालमा हार्लेका मोटरसाइकल ल्याउने बारे बजार अध्ययन गरिरहेको बुझिएको छ । कम्पनीले नेपालमा बढ्दो मिड साइज मोटरसाइकल बजारलाई ध्यानमा राखेर हार्लेका ४४० सिरिजका मोटरसाइकल २०२६ को मिडसम्ममा सार्वजनिक गर्न सक्नेछ ।


Back_to_top