काठमाडौं । सीजी मोटर्सले हिरोको नयाँ १६० सीसी क्षमताको मोटरसाइकल नेपाल ल्याउने भएको छ । कम्पनीले हिरो एक्स्ट्रीम १६० आर फोर भी मोडल नेपाल ल्याउन लागेको हो ।
आगामी मंगलबारबाट आयोजना हुने नाडा अटो शो २०२४ मा हिरो एक्स्ट्रीम १६० आर सार्वजनिक हुने भएको हो । कम्पनीले एक्स्ट्रीम १६० आर फोर भीको मूल्य भने बाहिर ल्याएको छैन ।
भारतमा १ लाख ३९ हजार भारतीय रुपैयाँ तोकेर (एक्स शोरुम) बिक्री हुँदै आएको एक्स्ट्रीम १६० आर फोर भी निकै फिचर लोडेड मोटरसाइकल हो । नेपालमा यसको मूल्य कति पर्छ भन्ने थाहापाउन नाडा अटो शोसम्म कुर्नु पर्ने हुन्छ ।
हिरो एक्स्ट्रीम १६० आर फोर भीमा १६३.२ सीसी क्षमताको सिंगल सिलिन्डर, फोर भल्भ, एयर÷आयल कुल्ड बीएस ६ इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १६.९ पीएस पावर तथा १४.६ एनए टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।
हिरो मोटोकर्पको दावी अनुसार सेग्मेन्टमै सबैभन्दा छिटो ० देखि ६० किलोमिटर प्रतिघण्टाको स्पीड यस मोटरसाइकलले भेट्टाउने छ । एक लिटर पेट्रोलमा यसलाई ४५ किलोमिटर भन्दा बढि गुडाउन सकिने कम्पनीको दावी छ ।
यसमा पुरै लाइट एलइडी दिइएको छ । डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध मोटरसाइकलमा स्पीडोमिटर, ओडोमिटर, ट्रिप मिटर, टेकोमिटर, रियल टाइम, गियर पोजीसन, फ्युल गेज, गुगल म्याप, टर्न बाइ टर्न नेभिगेसन जस्ता फिचर छन् ।
त्यसैगरी हिरो कनेक्ट २.० मोबाइल एप, ब्लुटुथ कनेक्टिभिटी सिस्टम पनि पाउन सकिन्छ । यसका अलावा यस मोटरसाइकलमा डबल डिस्क ब्रेक, एबीएस, अलोय ह्वील, फ्रन्टमा इन्भर्टेड टेलिस्कोपिक फर्क र रियरमा ७ स्टेप एड्जस्टेवल मोनोसक सस्पेन्सन सेटअप रहेको छ ।

