काठमाडौं । २०८२ वैशाख २९ गते पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यबिन्दु नगरपालिका-८ चोरमारास्थित गिरुबारी खोला पुल भाँचियो । होङ्सी सिमेन्ट कम्पनीबाट क्लिंकर बोकेर वीरगंजतर्फ जाँदै गरेका म.प्र.०३-००१ क ३१६३ नम्बरको १८ चक्के टेलर गुड्दै गर्दा पुल भाँचिएको थियो । पुल भाँचिएपछि सवारी आवगमन अवरुद्ध भएको थियो । हाल अस्थायी डाइर्भसन निर्माण गरी यातायात संचालन गरिएको छ ।
***
२०८१ पुस २६ गते पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नै दुम्कीबासको विनयी खोला पुल भाँचियो । अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण पुल भाँचिएको थियो । उक्त पुल भाँचिदा २ दिनसम्म सवारी आवगमन ठप्प भएको थियो । पछि अस्थायी डाइभर्सन निर्माण गरी सवारी संचालनमा ल्याइयो । ३ वर्ष अघि पनि उक्त पुलमा प्वाल परेको थियो ।
***
२०७८ माघ २९ गते संखुवासभाको मकालु गाउँपालिका-५ र १ जोड्ने बेलिब्रिज भाँचियो । पुल भाँचिँदा इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामग्री लिएर गएको तीनवटा ट्रक अरूण नदीमा खसेका थिए । उक्त क्षेत्रमा हप्तौंसम्म सवारी आवतजावत ठप्प भएको थियो ।
***
पुल भाँचिएका यी केही प्रतिनिधि घटना मात्र हुन् । पछिल्लो समय मुख्य राजमार्गमा पुल भाँचिने र भासिने क्रम बढ्दो छ । दर्जनौं पुलबाट यात्रा गर्नु जोखिमपूर्ण बनेको छ । यससँगै पुलको गुणस्तर र सवारी साधन नियमनमा प्रश्न समेत उठेको छ ।
पुल भाँचिनुमा एकले अर्कोलाई दोषारोपण गरेको पाइन्छ । यातायात व्यवसायी वर्षौं पुराना पुल नियमित मर्मत सम्भार नगर्दा र भारतीय ट्रकका कारण पुल भाँचिएको र भाँचिने क्रम बढेको बताउँछन् । सरकारी अधिकारीहरू भने पुलको गुणस्तर कमजोर नभई अत्यधिक भारी (ओभरलोड) गाडीका कारण भाँचिने गरेको बताउँछन् ।

कुनै पनि पुलको निश्चित आयु र भारवहन क्षमता हुन्छ । वर्षौं पुराना पुल नट खिइने र खोलाको सतह गरिरिँदा कमजोर बन्दै गएका छन् । त्यसलाई नियमित मर्मत सम्भार गरी राख्नुपर्छ । सडक विभागले केही समय अघि गरेको एक अध्ययनले नै राजमार्गका ५० प्रतिशत पुल पुनर्निमार्ण र ८० प्रतिशत पुल मर्मत सम्भार गर्नुपर्ने देखाएको थियो । तर, जीर्ण पुलको प्रतिस्थापन र मर्मत सम्भार न्यून छ ।
सडक विभाग, पुल महाशाखा प्रमुख (सुई) ललिजन खनाल पुल कमजोर निर्माण भएका कारण नभई ओभर लोड गाडीका कारण भाँचिने क्रम बढेको बताउँछन् । उनले पुल निश्चित भारवहन क्षमताको बनाइने भएकाले सो क्षमताभन्दा बढीको गाडी गुडाउँदा दुर्घटना र जोखिम हुने बताए ।
‘सडक विभागले निश्चित भारवहन थेग्ने पुल बनाउँछ । निर्माणको क्रममा गुणस्तरमा कुनै कम्परमाइज गरिएको हुँदैन,’ खनालले मेरोअटोसँग भने, ‘तर, जति नै बलियो पुल बनाए पनि ओभर लोड थेग्न त सक्दैन नि । अति लोड भएपछि भाँचिनु÷भासिनु स्वभाविक हो ।’
सवारी चालक, प्रहरी र जिल्ला प्रसाशनहरूको चरम लापारबाहीका कारण पुल भाँचिने घटना बढेको उनले बताए । ‘कानुनमै सवारीले बोक्न पाउने लोड तोकिएको छ । तर, चालकले भाडाको लोभमा तोकभन्दा धेरै लोड बोक्छन् । प्रहरीले पनि ओभरलोडेड गाडी रोक्नुपर्नेमा उल्टो छाडेको देखिन्छ । सडकमा सवारी जाँच गर्ने विभागले होइन, जिम्मेवार पाएकाले प्रभावकारी नियमन गर्दैनन्,’ उनले भने, ‘सबै पक्ष जिम्मेवार नबने हाम्रो सडक र पुल जोगाउन सकिँदैन ।’ चालकहरूले १०/२० हजार भाडाको लोभमा १५/२० करोड रुपैयाँ लागतका पुल भत्काउने जोखिम मोल्ने गरेको उनको भनाइ छ ।
पुलको नियमित मर्मत सम्भार सडक विभागले गर्ने भए पनि संरक्षण गर्नु सबैको दायित्व रहेको उनको भनाइ छ । उनका अनुसार हाल देशभर साढे २ हजार बढी पुल छन् । तीमध्ये करिब डेढ दर्जन मात्र जीर्ण अवस्थामा रहेका छन् । अरू पुराना पुलको नियमित मर्मत सम्भार गरिरहेको उनको भनाइ छ ।
‘नेपाली होइन्, भारतीय ट्रकले भाँच्छन् पुल’
नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोख्रेल अत्यधिक भार बोक्ने भारतीय ट्रकका कारण नेपालका पुलहरू धरापमा परेको बताउँछन् । अधिकांश नेपाली ट्रकले तौलपुल नियम पालना गरे पनि निर्वाध रूपमा आउने भारतीय ट्रककै कारण पुल भाँचिने गरेको उनले बताए ।
‘हाम्रा सडकका अधिकांश पुल भारतीय गाडीका कारण भाँचिएका हुन् । कानुनले तोकेभन्दा दशौं टन बढी लोड बोकर आउँछन् । दशकौं अघि बनाइएका पुलले त्यो लोड थेग्नै सक्दैन,’ उनले मेरोअटोसँग भने, ‘अत्यधिक भारी बोक्ने भारतीय ट्रक नरोके पुल बचाउन सकिँदैन ।’ ९५ प्रतिशत बढी नेपाली गाडी अन्डर लोड नै हुने उनको भनाइ छ ।

भारतीय ट्रक नियमन गर्न राज्यले नै चासो नदेखाएको उनले बताए । ‘राजमार्गमा तौलपुल स्थापना गरिएको छ । तर, बढी तौल देखिए कारबाही गनुैपर्नेमा उल्टै दबाबमा छाडिने गरेको छ । प्रहरीले चरम लापारबाही गरेको देखिन्छ,’ उनले भने, ‘खै किन हो भारतीय ट्रक भनेपछि कारबाही गर्नै डराएको देखिन्छ ।’
सरकारले कुन सडकमा कति लोड बोकेका गाडी गुड्ने दिने भन्ने नियम पूर्णरूपमा लागू गरे मात्रै सडक र पुल टिकाउ हुने उनले बताए । साथै, पुराना पुलको नियमित मर्मत र प्रतिस्थापनमा जोड दिनुपर्ने उनको भनाइ छ ।
‘ओभरलोड मात्र होइन कारण’
यातायात तथा पूर्वाधार विज्ञ आशिष गजुरेल राजमार्गको पुल भाँचिनुमा ओभर लोड मात्र कारण नरहेको बताउँछन् । नियमित निरीक्षण, मर्मत सम्भार, भारवहन क्षमता चेकजाँच र पालनामा ध्यान नदिँदा पनि पुलहरू भाँचिने क्रम बढेको उनले बताए ।
‘राजमार्गका पुलहरू वर्षौं पुराना भइसकेका छन् । ती पुलको नियमित निरीक्षण, मर्मत सम्भारसँगै रेट्रोफिट समेत गर्नुपर्छ । त्यो काममा ध्यान पुगेको देखिँदैन । सँगै पुलको क्षमताभन्दा धेरै लोड बोकेका गाडी गुडिरहेका छन् । यिनै कारण पुलहरू कमजोर बन्दै जाने र दुर्घटना हुने गरेको छ,’ उनले मेरो अटोसँग भने ।
२०८२ वैशाख २९ गते पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको चोरमारास्थित भाँचिएको गिरुबारी खोला पुल ।
पुलको टिकाउका लागि नियमित मर्मत सम्भारसँगै रेट्रोफिट गर्नुपर्ने र पुलको भारवहन क्षमताले धान्नेसम्मका मात्र गाडीहरू गुड्न दिनुपर्ने उनको भनाइ छ ।
कति लोड बोक्न पाउँछन् ?
कस्ता गाडीले कतिसम्म लोड बोक्न पाउने कानुनमै स्पष्ट तोकिएको छ । तर, कार्यान्वयन फितलो हुँदा कानुन कागजमै सीमित भएको देखिन्छ ।
मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धी निर्देशिका, २०७४ मा गाडीको एक्सल (पाँग्रा) अनुसार तौल बोक्न पाउने व्यवस्था छ ।
निर्देशिका अनुसार दुई एक्सल (४ पाँग्रा-अगाडि/पछाडि २/२ वटा) सवारीले १२ टनसम्म लोड बोक्न पाउँछन् । त्यस्तै, दुई एक्सल (६ पाँग्रा-अगाडि २ र पछाडि ४ पाँग्रा) भएकोले १६.२ टन, तीन एक्सल ट्रक (अगाडि २ र पछाडि ८ पाँग्रा)ले २५ टन, चार एक्सल ट्रक (१२ पाँग्रा)ले ३१ टन र चार एक्सल (१४ पाँग्रा)ले ३० टन भारी बोक्न पाउँछन् । त्यस्तै, पाँच एक्सल (१८ पाँग्रा) भएको गाडीले ४०.२ टनसम्म लोड बोक्न पाउँछन् ।
मालवाहक सवारीको अधिकतम वजन जतिसुकै हुन आए पनि सडकमा संचालन गर्दा सवारीको कुल वजन रिजिड ट्रकको हकमा ३५ टन र ट्रेलर वा सेमी ट्रेलरको हकमा अधिकतम ४९ टनभन्दा बढी हुन नहुने निर्देशिकामा उल्लेख छ । तर, भारतीय ट्रकले ८०/९० टनसम्म सामान बोकर आउने गरेको पाइन्छ ।

