फलेवास । मध्यपहाडी लोकमार्गको पर्वतखण्ड शुक्रबारदेखि दैनिक सात घण्टा बन्द हुन थालेको छ ।
कुस्मा नगरपालिकामा पर्ने चुवाको भीर र मोदी गाउँपालिकामा पर्ने डिमुवा माहुरी भीरमा सडक फराकिलो बनाउने क्रममा सडक बन्द गरिएको हो । नगरपालिकाको खरेहा खोलादेखि मोदी गाउँपालिकाको अँधेरीखोलासम्म बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म तथा अपराह्न १ देखि ४ बजेसम्म सडक बन्द गरिएको छ । साँझ ६ देखि राति ८ बजेसम्म पनि सडक बन्द गरेर सडक निर्माणलाई निरन्तरता दिइएको छ ।
निर्माण कम्पनी लामा कन्स्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालका अनुसार माहुरी भीरमा दुई स्थानबाट सडक फराकिलो बनाउने काम भइरहेको छ भने चुवा भीरमा एक ठाउँबाट काम थालिएको छ । अझै थप स्काभेटर परिचालन गरी दुवै ठाउँमा तीन तीन ठाउँबाट सडक फराकिलो बनाउन काम तीव्र बनाउने योजना रहेको भुसालले बताए । ‘वर्षायाममा यात्रुको चाप पनि कम हुने र सवारीसाधन पातलो चल्ने कारणले सात घण्टा सडक बन्द गरेर काम गर्ने निर्णय हो्’, प्रोजेक्ट म्यानेजर भुसालले भने, ‘दुवै कठिन भीरमा दुई महिनाभित्रमा काम सक्ने लक्ष्य राखेर काम गर्दैछौँ ।’
यात्रुलाई लगातार बन्द गर्दा समस्या पर्ने भएकाले सडक पनि निर्माण हुने र यात्रुलाई समस्या नहुने गरी बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए । चुवा र माहुरीभीरमा पनि सकेसम्म वैकल्पिक सडक बनाएर आवागमन सहज बनाउने प्रयास भइरहेको पनि उनले जानकारी दिए ।