होण्डाको स्पोर्टी स्कुटर ‘एयरब्लेड’ अब भारतमा उत्पादन हुने

काठमाडौं । जापानी दुईपाँग्रे निर्माता होण्डाले आफ्नो स्पोर्र्टी स्कुटर ‘एयरब्लेड’ अब भारतमा उत्पादन गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा १२५ सीसी र १६० सीसी इन्जिन अप्सनमा बिक्री भइरहेको एयरब्लेड भारतमा उत्पादन गर्न कम्पनीले पेटेन्ट फाइल दर्ता गराएको हो ।

कम्पनीले भारतमा एयरब्लेडको १२५ र १६० सीसी दुई मध्ये कुन निर्माण गर्न लागेको हो, त्यो भने अहिलेसम्म खुलाएको छैन । तर भारतीय मिडियामा आएका रिर्पोट अनुसार होण्डाले १६० सीसी इन्जिनको एयरब्लेड भारतमा निर्माण गर्न लागेको बताइएको छ ।

भारतीय बजारमा १२५ सीसी सेग्मेन्टमा होण्डाको डिओ र एक्टिभा पहिलैदेखि बिक्रीमा छन् । त्यसैले कम्पनीले १६० सीसी सेग्मेन्टकै एयरब्लेड स्कुटर भारतमा उपलब्ध गराउने रिपोर्टमा उल्लेख छ ।

हाल सार्वजनिक भएको पेटेन्ट विवरणबाट यो १२५ सीसी मोडल हो वा १६० सीसी मोडल हो भन्ने स्पष्ट छैन । तर, बजारको प्रतिस्पर्धालाई हेर्दा होण्डाले एयरब्लेड १६० ल्याउने सम्भावना बढी देखिएको हो ।

म्याक्सी डिजाइनमा रहेको एडरब्लेड निकै आक्रामक र स्पोर्र्टी लुक्समा छ । स्कुटरमा यु आकारको एलईडी हेडलाइट, डीआरएल, फ्लोरबोर्डको बीच भागमा स्पाइन डिजाइन र स्लिक बडी प्यानल दिइएको छ, जसले स्कुटरलाई आधुनिक र निकै प्रिमियम लुक प्रदान गर्छ ।

एयरब्लेडमा १५७ सीसी, लिक्विड कुल्ड, सिंगल सिलिण्डर इन्जिन प्रयोग गरिएको छ । यसले १४.७ ब्रेकहर्स पावर र १४.८ एनएम टर्क जेनेरेट गर्छ । ११३ केजी कर्ब तौल भएको यो स्कुटर अन्य प्रतिस्पर्धी मोडलहरूको तुलनामा निकै हलुका छ ।

फिचरका हिसाबले पनि एयरब्लेड १६० आकर्षक मानिन्छ । यसमा फुल एलईडी लाइटिङ, पूरा डिजिटल एलसीडी इन्स्ट्रुमेन्ट कन्सोल, होण्डा स्मार्ट-की प्रणाली, चार्जिङ पोर्ट, सुरक्षाका लागि सिंगल-च्यानल एबीएस, ब्ल्याक अलोय ह्वील, ट्युबलेस टायर, अगाडि डिस्क र पछाडि ड्रम ब्रेक, फ्रन्टमा आरएसयू टेलिस्कोपिक फर्क, रियरमा ट्वीन सक अब्जरर्बार रहेको छ ।

हाल १५० देखि १६० सीसी स्कुटर सेग्मेन्टमा होण्डासँग कुनै प्रत्यक्ष प्रतिस्पर्र्धी मोडल छैन । त्यसैले एयरब्लेड १६० कम्पनीको पोर्टफोलियोमा रहेको खाली स्थान भर्ने महत्वपूर्ण उत्पादन बन्न सक्ने अनुमान गरिएको छ । बजारमा आएसँगै यो मोडलले यामाआ एरोक्स १५५, हिरो जुम १६० र टीभीएस एनटर्क १५० सँग सिधा प्रतिस्पर्धा गर्ने देखिन्छ ।


Back_to_top